नैब र शाहजादको उत्कृस्ट प्रदर्शनमा अफगानिस्तानको ठुलो जित

२०७६ जेष्ठ ७, मंगलवार २३:४४

घरेलु टिम आयरल्याण्डलाई १२६ रनको ठुलो अन्तरले पराजित गर्दै २ एकदिवसीयको सिरिज अफगानिस्तानले १-१ को बराबरीमा टुंग्याएको छ।  पहिलो एकदिवसीयमा आयरल्याण्ड ७२ रनले विजयी भएको थियो।

मंगलबार सिभिल सर्भिस क्लब बेलफास्ट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रनको योगफल तयार गरेको थियो।

उसको लागि ओपनर मोहम्मद शाहजादले ८८ बलमा १६ चौका मदतले १०१ रन बनाएका थिए। यस्तै रहमत शाहले ६२ ( ९० बलमा ७ चौका र १ छक्का ) तथा नाजिबुल्लाह जद्रानले अविजित ६० रन ( ३३ बलमा ७ चौका र ३ छक्का ) प्रहार गरे। हस्मतुल्लाह शाहिदीले ४७ रन ( ४८ बलमा ४ चौका र १ छक्का ) बनाए।

ओपनर शाहजादले दोश्रो विकेटको लागि रहमत शाहसंग १५० रनको साझेदारी गर्दै अफगानिस्तानको ठुलो स्कोरको आधार तयार गरेका थिए।

आयरल्याण्डको लागि बलिंगमा मार्क एडेयरले ३ ( १०-१-७१-३) तथा एन्डीम्याकब्रिनले २ विकेट (१०-१-४३-२) लिए।

३०६ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले १७९ रनमा सबै विकेट गुमाउन पुग्यो। ओपनर पल स्टरलिंगले ५० रन बनाए पनि अन्य ब्याट्सम्यानले ठुलो योगफल बनाउन नसक्दा आयरल्याण्ड ठुलो अन्तरले पराजित हुन पुग्यो।

कप्तान गुल्बदीन नैबले उत्कृस्ट बलिंग गर्दै एक्लैले ६ विकेट लिए जुन क्रममा ९.२ ओभरमा ४३ रन खर्चेर घरेलु टिमको ब्याटिंग लाइन अप तहसनहस पारे।

एकदिवसीय विश्वकप अन्तर्गत अफगानिस्तानले आफ्नो पहिलो खेल अस्ट्रेलियासंग जुन १ तारिकमा खेल्ने तालिका रहेको छ। त्यस अघि उसले पाकिस्तानसंग मे २४ र इंग्ल्याण्डसंग मे २७ मा अभ्यास खेल खेल्ने तालिका रहेको छ।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy