तालिबानले महिला क्रिकेटलाई समर्थन नगरे अफगानिस्तानलाई अस्ट्रेलियाले आतिथ्य नगर्ने

अस्ट्रेलियाको क्रिकेट बोर्ड अर्थात् क्रिकेट अस्ट्रेलियाले अफगानिस्तानसंग नोभेम्बर २७ मा होबार्टमा खेलिने भनिएको एक मात्र टेस्टबारे महत्वपूर्ण फैसला गरेको छ।

क्रिकेट अस्ट्रेलियाले तालिबान सत्ताले महिला क्रिकेटलाई प्रतिबन्ध लगाएको खण्डमा अस्ट्रेलियाले अफगानिस्तानको पुरुष क्रिकेट टिमसंग नखेल्ने स्पस्ट पारेको छ। क्रिकेट अस्ट्रेलियाले अधिकारिक बिज्ञप्तिनै जारी गर्दै आफ्नो अडान बताएको छ।

अस्ट्रेलिया र अफगानिस्तान बीच एशेज सिरिज अघि एउटा मात्र टेस्ट खेल्ने योजना रहेको थियो तर अफगानिस्तानमा भएको सत्ता परिवर्तन पछि यो खेल स्थगित गरिएको छ। जब सम्म अफगानिस्तानमा महिला क्रिकेट टिमलाई खेल्ने अनुमति हुने छैन तबसम्म अस्ट्रेलियाले अफगानिस्तानको आतिथ्य गर्नेछैन। महिला क्रिकेटलाई पनि समर्थन गर्नुपर्ने क्रिकेट अस्ट्रेलियाको भनाइ रहेको छ।


क्रिकेट अस्ट्रेलियाद्वारा जारि बिज्ञप्तिमा लेखिएको छ- “विश्वस्तरमा महिला क्रिकेटको विकासलाई गति दिनु क्रिकेट अस्ट्रेलियाको लागि महत्वपूर्ण छ। क्रिकेट खेल हाम्रो दृष्टिकोणमा सबैको लागि खेल हो र हरेक स्तरमा महिलाहरुको लागि क्रिकेटमा हाम्रो समर्थन छ।”

बिज्ञप्तिमा थप लेखिएको छ – “मिडिया रिपोर्टहरुलाई आधार मान्ने हो भने अफगानिस्तानले महिला क्रिकेटलाई समर्थन गर्दैन। यस्तोमा हामि अफगानिस्तानलाई होबार्टमा प्रस्तावित टेस्टमा आतिथ्य नगर्ने बाहेक बिकल्प छैन। हामि अस्ट्रेलिया र तास्मानियन सरकारलाई यो महत्वपूर्ण विषयमा साथको लागि धन्यवाद दिन चाहन्छौं।”

महिला क्रिकेटलाई समर्थन नगरेको खण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले पनि अफगानिस्तानको टेस्ट मान्यता खोस्न सक्छ। अफगानिस्तानको पछिल्लो घटनाक्रमलाई क्रिकेटको सर्वोच्च संस्थाले नजिकबाट नियालीरहेको छ। टि-ट्वान्टी विश्वकप पछि आईसीसीको नोभेम्बरमा हुने आगामी बोर्ड बैठकमा यस बारे छलफल हुने बताईएको छ। टेस्ट मान्यता प्राप्त रास्ट्रको अनिवार्य रुपमा महिला राष्ट्रिय टिम पनि हुनु पर्ने नियम रहेको छ।

कुनै पनि रास्ट्रको टेस्ट मान्यता रद्द गर्नको लागि आईसीसीको १७ सदस्यीय बोर्डको दुई तिहाई बहुमत आवस्यक रहन्छ।

अफगानिस्तान महिला क्रिकेट टिम २०१० मा बनेता पनि हालसम्म आईसीसी मान्यता प्राप्त प्रतियोगिता खेलेको छैन। ओमानसंग अधिकारिक खेल खेल खेल्ने योजना बनेता पनि तालिबान सरकारको उपस्थितिमा त्यो सम्भव देखिएको छैन।

अफगानिस्तान क्रिकेट बोर्डका सीईओ हमिद शिनवारीले भर्खरै बिबिसीसंगको कुराकानीको क्रममा तालिबान सरकारले महिला क्रिकेटलाई बन्द गर्ने बताएका थिए – “यो मेरो धारणा हो कि महिला क्रिकेट रोकिनेछ। मलाई थाहा छैन भविष्यमा के हुनेछ तर हामीले महिला क्रिकेटरहरुलाई अनुबन्धमा राखीरहेका छौँ। यदी सरकारले महिला क्रिकेटलाई रोक्ने निर्णय गर्छ भने हामीले रोक्नुपर्छ।”

अघिल्लो तालिबान सरकारको पालामा क्रिकेट खेल प्रतिबन्धित रहेको थियो जुन निर्णय सन् २००० मा परिवर्तन गरेपछि अफगानिस्तानले अफिलीयट रास्ट्र तथा २०१३ मा एसोसिएट राष्ट्र तथा २०१७ मा टेस्ट राष्ट्रको मान्यता पाएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy