अफगानिस्तान र बंगलादेश बीच जारि एक मात्र टेस्टमा घरेलु टिम बंगलादेश हार नजिक पुगेको छ।
अफगानिस्तानले दिएको ३९८ रनको लक्ष्य पछ्याउने क्रममा चौथो दिनको खेल समाप्तिमा बंगलादेशले ६ विकेट गुमाईसकेको छ र लक्ष्य भन्दा अझै २६२ रन पछाडी रहेको छ।
चौथो दिन २३७/८ को योगफलबाट ब्याटिंग थालेको भ्रमण टिमले २६० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो र ३९७ रनको अग्रता लियो। लक्ष्य पछ्याउने क्रममा बंगलादेशका माथिल्लो क्रमका ब्याट्सम्यानहरु पेभेलियन फर्कीसकेका छन्।
कप्तान शाकिब अल हसन अविजित ३९ रन तथा सौम्य सरकार खाता नखोली क्रिजमा रहेका छन्। यस अघि शदाम इस्लाम ४१, मुस्फुकुर रहिम २३, मोसद्देक होसेन १२, लिटन दास ९ तथा मोमिनुल हक ३ रन बनाए आउट भैसकेका छन्।
अफगानिस्तानको बलिंगमा कप्तान रासिद खानले सर्वाधिक ३ विकेट ( १३-०-४६-३ ) लिएका छन्। पहिलो इनिंगमा पनि रासिदले ५ विकेट लिएका थिए। यस्तै जाहिर खानले २ तथा मोहम्मद नाबीले १ विकेट लिएका छन्।
टेस्टको पहिलो इनिंगमा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ३४२ रन बनाएको थियो। बंगलादेशले पहिलो इनिंगमा २०५ रनमा सबै विकेट गुमाउन पुगे पछि अफगानिस्तानले १३७ रनको पहिलो इनिंगको अग्रता लिएको थियो।
अफगानिस्तानको लागि पहिलो इनिंगमा रहमत शाहले १०२ तथा अस्घर अफ्घानले ९२ रन बनाएका थिए। यस्तै दोश्रो इनिंगमा इब्राहिम जद्रानले सर्वाधिक ८७ , अस्घर अफ्घानले ५० रन बनाए। बंगलादेशलाई पहिलो इनिंगमा सस्तोमा समेट्न रासिद खानले ५ विकेट लिएका थिए।
अफगानिस्तानले गत वर्ष भारतसंग पहिलो टेस्ट खेलेपछि खेलेको यो तेश्रो टेस्ट हो। यसै वर्ष अफगानिस्तानले आयरल्याण्डसंग दोश्रो टेस्ट खेलेको थियो। भारतसंग इनिंग र २६२ रनले पराजित भएको अफगानिस्तानले आयरल्याण्डलाई भने ७ विकेटले पराजित गर्दै पहिलो टेस्ट जित दर्ता गरेको थियो। बंगलादेश बिरुद्ध अफगानिस्तान दोश्रो जिततर्फ अग्रसर देखिएको छ।