अग्रताको दिशामा न्युजिल्यान्ड

२०७८ जेष्ठ २९, शनिबार ००:०७

घरेलु टोलि इंग्ल्यान्ड बिरुद्ध टेस्ट सिरिज अन्तर्गत दोश्रो टेस्टमा न्युजिल्यान्ड पहिलो इनिंग्सको अग्रतातर्फ अघि बढेको छ।

एजब्यास्टनमा जारि टेस्टको दोश्रो दिन २५८/७ को अवस्थाबाट ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले ३०३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। दोश्रो दिनको समाप्तिमा न्युजिल्यान्डले पहिलो इनिंग्समा ७६.३ ओभर ब्याटिंग गर्दा ३ विकेट गुमाएर २२९ रन बनाएको छ। न्युजिल्यान्ड अझै इंग्ल्यान्डको पहिलो इनिंग्सको योगफलको ७४ रनले पछि रहेको छ।

न्युजिल्यान्डको लागि ओपनर डेभोन कनवेले ८० तथा विल योंगले ८२ रन योगदान दिए। योंगको टेस्ट करियरको यो पहिलो अर्धशतक हो। दिनको समाप्तिमा रोस टेलर ४६ रनमा अविजित रहेका छन्।

ओपनर तथा कप्तान टम लाथम ६ रन बनाएर स्टुवार्ट ब्रोडबाट आउट भएपछि दोश्रो विकेटको लागि कनवे र योंगले १२२ रनको साझेदारी गरेका थिए। कनवेलाई ब्रोडले क्याच आउट गराए जसपछि तेश्रो विकेटको लागि योंगले रोस टेलरसंग ९२ रन जोडे। योंगलाई ड्यानीयल लरेन्सले क्याच आउट गराउदै टेस्ट करियरको पहिलो विकेट लिए।

स्टुवार्ट ब्रोडले २ विकेट लिंदा १५ ओभरमा ६ मेडन ओभर गर्दै २२ रन खर्चेका छन् भने ड्यानियल लरेन्सले १.३ ओभरमा ८ रन खर्चेर १ विकेट लिएका हुन्।

इंग्ल्यान्डको पहिलो इनिंग्स : इंग्ल्यान्डले पहिलो इनिंग्समा १०१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३०३ रन बनाएको थियो। इंग्ल्यान्डको लागि ड्यानीयल लरेन्स र रोरी बर्न्सले समान ८१ रन योगदान दिए। छैठौं नम्बरमा ब्याटिंग गरेका लरेन्स लरेन्सले अविजित अविजित रहे। मार्क वुडले ४१ तथा डोमिनिक सिबले ३५ रन योगदान दिए। वुड र लरेन्स बीच आठौँ विकेटको लागि ६० रनको साझेदारी भएको थियो।

न्युजिल्यान्डको बलिंगमा ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट ( २९-६-८५-४ ) लिए भने म्याट हेनरीले ३ विकेट ( २६-७-७८-३ ), अजाज पटेलले २ विकेट ( १४-४-३४-२ ) र निल वाग्नरले १ विकेट ( २१-६-६८-१ ) लिए।

सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy