२०२१ करेबियन प्रिमियर लिग अगस्ट २८ तारिख देखि सेप्टेम्बर १९ तारिखसम्म आयोजना हुने तय भएको छ।
लिगको नवौं सिजनको आयोजना सेन्ट किट्स एण्ड नेभिसमा हुनेछ जहाँ सबै ३३ वटा खेलहरु वार्नर पार्क स्टेडियममा खेलिनेछ। एकै मैदानमा सम्पूर्ण खेलहरु खेलिनेछ। यस अघिको संस्करणको आयोजना गत वर्ष ट्रिनिडाड एण्ड टोबागोमा सफलतापूर्वक भएको थियो। गत सिजन जस्तै यो पटक पनि प्रतियोगिताको आयोजना पूर्णत ‘बायो बबलमा’ गरिनेछ।
लिगको गत सिजन दर्शकको हिसाबले इतिहासकै सफल भएको थियो। २०१९ को संस्करण भन्दा २०२० को संस्करण ६७ प्रतिशत बढी दर्शकले हेरेका थिए। उक्त सिजनले करिब ५२ करोड ३० लाख भ्युवरसिप पाएको थियो।
गत सिजन लिगको उपाधि काईरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले जितेको थियो जुन क्रममा ड्यारेन स्यामी कप्तानीको सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गरेको थियो। सन्दिप आबद्ध जमैका सेमीफाइनलमा ट्रिनबागोसंग पराजित भएको थियो।
सन्दिप खेल्ने अनिश्चित
नेपाली लेग स्पिनर सन्दिप लामिछाने बिगत ३ सिजन देखि सिपिएल खेल्दै आएका छन्। गत सिजन सन्दिपले जमैका तलावाजको प्रतिनिधित्व गर्दै ११ खेलमा १२ विकेट लिंदै प्रतियोगिताको संयुक्त रुपमा पाँचौ सर्वाधिक विकेटकर्ता रहेका थिए।
यो सिजन भने सन्दिप लामिछाने सिपिएल टि-२० खेल्ने या नखेल्ने तय भैसकेको छैन। सन्दिप इंग्ल्यान्डको घरेलु टि-ट्वान्टी लिग ‘भाईटालिटि ब्लास्ट टि-२०’ तथा ‘द हन्ड्रेड’ लिग खेल्न इंग्ल्यान्ड जाने तालिका रहेको छ। ‘भाईटालिटि ब्लास्ट टि-२०’मा सन्दिप वर्सेस्टरशायर र्यापिडको लागि खेल्नेछन् भने ‘द हन्ड्रेड’ मा ओभल इन्भिन्सिबलबाट खेल्दैछन्। दुवै प्रतियोगिता पुरै खेलेको खण्डमा सन्दिप सिपिएल खेल्ने सम्भावना कम रहेको छ।
भाईटालिटि ब्लास्ट जुन ९ तारिख देखि सुरु हुनेछ भने १८ जुलाईसम्म पहिलो चरणको खेल चल्नेछ। दोश्रो चरण अन्तर्गत ४ वटा क्वार्टरफाइनल खेल अगस्ट २४ देखि २७ तारिखसम्म तथा तेश्रो चरणको सेमीफाइनल र फाइनल खेलहरु सेप्टेम्बर १८ तारिखमा खेलिनेछ। त्यस बीचमा द हन्ड्रेड लिग जुलाई २२ तारिख देखि अगस्ट २१ तारिखसम्म संचालन हुनेछ।
अगस्ट २८ तारिख देखि सिपिएल टि-ट्वान्टी सुरु हुने हुँदा सन्दिप सिपिएल खेल्न इंग्ल्यान्डबाट ‘द हन्ड्रेड’ लिग सकिएलगत्तै वेस्टइन्डिज प्रस्थान गर्नुपर्नेछ। वेस्टइन्डिजमा क्वारेन्टाइन बसेपछि मात्र सन्दिप लिगमा सहभागी हुन पाउनेछन्। सेप्टेम्बर १८ तारिखमा भाईटालिटि ब्लास्ट टि-ट्वान्टीको सेमीफाइनल र फाइनल खेल हुँदा सन्दिपको टिम अन्तिम-४ सम्म पुगेको खण्डमा झनै सन्दिपको सिपिएल खेल्ने सम्भावना कम हुनसक्छ।
कोभीड-१९ का कारण अन्तर्राष्ट्रिय उडानहरु प्रतिबन्धित रहेकाले जुन ९ तारिख देखि सुरु हुने भाईटालिटि ब्लास्ट टि-ट्वान्टी खेल्न जाने सम्भावना समेत सन्दिपको कम रहेको छ। अन्तर्राष्ट्रिय उडान छिट्टै खुल्ने सम्भावना नदेखिएको हुँदा सन्दिपले लिगको सुरुवाती चरणको खेल गुमाउने निश्चित जस्तो देखिएको छ।
यो वर्ष जनवरीमा अस्ट्रेलियामा बिग ब्यास लिग खेलेपछि सन्दिपले विदेशी लिग खेलेका छैनन्। राशिद खानको स्थानमा पाकिस्तान सुपर लिग खेल्न फेब्रुअरीमा पाकिस्तान पुगेता पनि कोभिड-१९ का कारण प्रतियोगितानै स्थगित हुँदा सन्दिप खेलनै खेल्न नपाई नेपाल फर्कनुपरेको थियो।
सम्बन्धित
https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/
https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/
https://wicketnepal.com/sandeep-retained-by-oval-2021/
https://wicketnepal.com/paras-sangai-bat-garne-sandeep-wn20/
https://wicketnepal.com/ipl-5-associate-cricketer-wn20/
https://wicketnepal.com/net-vs-sco-2nd-odi-wn21/