दबाबमा दिपेन्द्रको उत्कृस्ट इनिंग्स, सन्दिपको अलराउण्ड योगदान, युएई विरुद्ध नेपालको कठिन जित

२०८० असार १७, आईतवार २०:४६

जिम्बाब्वेमा जारि आईसीसी विश्वकप छनोट अन्तर्गत सातौँ स्थानको प्लेअफ सेमीफाइनल खेलमा नेपालले युएईमाथि तीन विकेटको जित निकालेको छ । युएई विरुद्ध लगातार पाँचौ एकदिवसीय अन्तर्राष्ट्रिय जित दर्ता गरको नेपालले अब सातौँ स्थानको लागि प्ले-अफ फाइनलमा आयरल्याण्डसंग मंगलबार खेल्नेछ।

हरारे स्थित ताकाशिंगा स्पोर्ट्स क्लब मैदानमा नेपालको जित सहज रहेन। १८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १०६ रन बनाउदा ७ विकेट गुमायो। आठौँ विकेटको लागि दिपेन्द्र ऐरीले सन्दिप लामिछानेसंग अविजित ७९ रनको साझेदारी गर्दै नेपाललाई ४४ औं ओभरमा जितसम्म पुर्याए। यस अघि ऐरीले सातौँ विकेटको लागि गुल्सन झासंग ४३ रनको साझेदारी गरेका थिए।

दबाबमा उत्कृस्ट ब्याटिंग गर्ने क्रममा ऐरीले अविजित ७९ रन बनाए जुन क्रममा ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। उनि प्लेयर अफ द म्याच समेत घोषित भए।

ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलपछि अर्धशतक बनाएका हुन्। अन्तिम पटक उनले यो वर्ष फेब्रुअरीमा घरेलु मैदानमा स्कटल्याण्ड विरुद्ध अविजित ८५ रन बनाएका थिए। ४९ खेल खेल्दा ऐरीको यो तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो। उनले २०२२ मार्चमा पपुवा न्यु गिनी विरुद्ध शतक बनाएका थिए।

क्रिजमा ऐरीको दरिलो साथ दिएका सन्दिपले ३७ बलमा २ चौका मद्दतले अविजित २३ रन बनाए।  गुल्सनले १२ रन बनाए। यस अघि ओपनर कुशल भुर्तेलले ३५ रन बनाएता पनि अन्य माथिल्लो क्रमका ब्याट्सम्यान लामो समय क्रिजमा जम्न सकेनन्। प्रतियोगितामा पहिलो पटक मौका पाएका ज्ञानेन्द्र मल्लले १३, अर्जुन साउदले १ रन बनाए। कप्तान रोहित पौडेलले ४, भिम शार्की र आरिफ शेखले १/१ रन बनाए।

युएईको बलिंगमा मुहम्मद जवादुल्लाहले ३ तथा जुनैद सिद्दिकी, अलि नासिर, संचित शर्मा र रोहन मुस्तफाले १/१ विकेट लिए।

Sandeep lamichhane
Sandeep lamichhane

यस अघि टस हारेर ब्याटिंग गरेको युएईले ४६.५ ओभरमा १८१ रनमा सबै विकेट गुमाएको थियो।

युएईको लागि कप्तान भृत्य अरविन्दले सर्वाधिक ४४ रन योगदान दिए। रोहन मुस्तफाले ३५, बसिल हमिदले २९ तथा आयांश शर्माले २८ रन योगदान दिए।

नेपालको बलिंगमा सन्दिप लामिछाने र करन केसीले ३/३ विकेट लिए। सन्दिपले १० ओभरमा ३ मेडन ओभर गर्दा करनले ८.५ ओभरमा ३६ रन खर्चिए। प्रतिश जिसी, गुल्सन झा र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

प्रतियोगिताको समुह चरणमा नेपाल समुह ‘ए’ को चौंथो स्थानमा रहंदा युएई समुह ‘बि’ को पाँचौ स्थानमा रहेको थियो। नेपालले ४ खेलमा १ जित र ३ हार बेहोर्दा युएई सबै ४ खेलमा पराजित भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy