- फोटो फिचर : शाहब आलम (फाइल फोटो)
विकेटनेपाल -१७ चैत्र, शनिवार | धनगढीमा आजबाट सुरु भएको धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोल्डेन्स र टिम चौराहा धनगढी भिड्दै छन् । टस हारेर ब्याटिंग गरेको चौराहाले काठमाडौंलाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यसैबीच काठमाडौं गोल्डेन्सका शाहब आलम डिपिएल इतिहासमा ह्याट्रिक लिने पहिलो बलर बनेका छन् । प्रतियोगिताको पहिलो संस्करणमा कुनैपनि बलरले ह्याट्रिक लिएका थिएनन् । दोस्रो संस्करणको भने पहिलो खेलमा नै आलमले ह्याट्रिक प्राप्त गरेका हुन् । टस हारेर ब्याटिंग गरेको चौराहाले उत्कृस्ट ब्याटिंग गर्दै ठुलो स्कोर तर्फ लम्कँदै गर्दा आलमले लगातार ३ विकेट चट्काउँदै काठमाडौंलाई खेलमा फर्काएका थिए।

इनिंगको १८ औं ओभर बलिंग गर्न आएका आलमले ओभरको तेस्रो बलमा व्यक्तिगत ६८ रन बनाएर खेलिरहेका सुनिल धमलालाई स्टम्प आउट गराएका थिए । ओभरको चौथो बलमा चौराहाका कप्तान सोमपाल कामी खाता नखोली पभेलियन फर्किए । उनि आलमको बलमा ज्ञानेन्द्र मल्लको हातबाट समातिएका थिए । ओभरको पाँचौं बलमा सोनु तामांगलाई ज्ञानेन्द्र मल्लको हातबाट आउट गराउंदै आलमले ह्याट्रिक पुरा गरे । खेलमा आलमले आफ्नो ४ ओभरमा २३ रन खर्चेर ३ विकेट चट्काए ।
खेलाडी छनौटका लागि आयोजित अक्सनमा काठमाडौं गोल्डेन्सले आलमलाई १ लाख रुपैयाँमा अनुबन्धन गरेको थियो । पहिलो संस्करणमा रुपन्देही च्यालेंजर्सको प्रतिनिधित्व गरेका आलमले त्यस सिजनमा समेत उत्कृस्ट प्रदर्शन गरेका थिए ।