अम्बाती रायडुको प्रदर्शनले चेन्नाई अंकतालिकाको शीर्ष स्थानमा

२०७५ बैशाख ९, आईतवार २०:३५

  • विकेटनेपाल, बैशाख ९ – आइतबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई रोमान्चक ४ रनले पराजित गर्दै चेन्नाई सुपरकिंग्स अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।  दिनको दोश्रो खेलमा अहिले राजस्थान रोयल्स र मुम्बई इन्डियन्स भिडिरहेका छन् ।

चेन्नाईले अहिलेसम्म ५ खेलबाट ४ जित र १ हार सहित ८ अंक बटुल्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ भने पराजित हैदराबाद समान ५ खेलबाट नै ३ जित र २ हारसँगै ६ अंकका साथ चौथो स्थानमा रहेको छ ।

चेन्नाईले दिएको १८३ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १७८ रनमात्र बनाउन सक्यो । खराब सुरुवाट गर्दै सुरुवाती ३ विकेट मात्र २२ रनमा गुमाएपछी केन विलियम्सनले चौथो विकेटको लागि साकिब अल हसन (२४ रन) सँग मिलेर ४९ रन तथा पाचौं विकेटको लागि युसुफ पठानसँग मिलेर ७९ रनको साझेदारी गरेका थिए । पठानले ४५ रन बनाउन २७ बलमा १ चौका र ४ छक्का तथा विलियम्सनले ८४ रन प्रहार गर्न ५१ बलमा ५ चौका र त्यति नै छक्का प्रहार गरे । त्यस्तै अन्त्यमा राशिद खानले मात्र ४ बलमा १ चौका र २ छक्का सहित अविजित १७ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

हैदराबादलाई सुरुवाती ३ विकेट लिँदै झट्का दिन दिपक चाहरले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चे भने शार्दुल ठाकुर, कर्ण शर्मा र ड्वायन ब्रावोले समान १/१ विकेट लिए ।

यसअघि इन्दिरा गान्धी खेल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १८२ रन बनाएपनि सुरुवाती समयमा धेरै संघर्ष गर्नुपरेको थियो । ९ ओभरको समाप्तीमा २ विकेट गुमाएर मात्र ४१ रन बनाएको उसका लागि म्यान अफ द म्याच समेत घोषित अम्बाती रायडूले ७९ रन बनाउनेक्रममा ३७ बलमा ९ चौका र ४ छक्का हान्दै तेस्रो विकेटको लागि सुरेश रैनासँग ११२ रनको साझेदारी गरेका थिए । त्यसपछि महेन्द्रसिंह धोनीले १२ बलमा २५ रन बनाउंदै रैनासँग मिलेर अविजित ३८ रनको साझेदारे गरे । रैनाले अविजित ५४ रन (४३ बल, ५ चौका, २ छक्का) बनाए ।

हैदराबादका लागि भुवनेश्वर कुमार र राशिद खानले १/१ विकेट लिएका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy