अस्ट्रेलियाको एडीलेडमा सम्पन्न एन्का सुपर लिगको उपाधि भीएक्सएल युनाइटेडले जितेको छ।
नेप्लिज क्रिकेट एसोसिएसन ( एन्का ) द्वारा आयोजित प्रतियोगिताको आइतबार क्यलेट रिजर्भ ओभल मैदानमा सम्पन्न फाइनलमा भीएक्सएल युनाइटेडले साउदर्न नाइट्स क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्यो।
उपाधि सहित भीएक्सएल युनाइटेडले ४ हजार अस्ट्रेलियन डलर पुरस्कार जित्यो। उपविजेता नाइट्सले १ हजार अस्ट्रेलियन डलर पायो।
जितको लागि पाएको १६४ रनको लक्ष्य युनाइटेडले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर १९. ३ ओभरमा भेटायो।
लक्ष्य पछ्याउने क्रममा भीएक्सएल युनाइटेडको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेया संजय खत्रीले सर्वाधिक ६० रन बनाए। प्लेयर अफ द म्याच घोषित खत्रीले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
ओपनर सुनम गौतमले २० बलमा ३ चौका र १ छक्का मद्दतले ३० रन बनाउदै आक्रामक सुरुवात दिलाएका थिए। मध्यक्रममा अंकित श्रेष्ठले २१, प्रवेश थापाले १३, आशिष पोख्रेलले ९ रन योगदान दिए। सुबाश खकुरेल ११ तथा प्रमोद बस्नेत ६ रनमा अविजित रहे। प्रमोद बस्नेतले छक्का प्रहार गर्दै टिमलाई जित सम्म पुर्याएका थिए।
नाइट्सको बलिंगमा बिक्रम सोब, अनुप भुसाल, राजु गुरुङ र अंकित श्रेष्ठले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको नाइट्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १६३ रन बनाएको थियो। उसको लागि बिक्रम सोबले आक्रामक ब्याटिंग गर्दै २५ बलमा ६४ रन बनाएका थिए जुन क्रममा ३ चौका र ७ छक्का प्रहार गरे। गोविन्द कार्कीले ३२, संगम गौतमले २२, सागर क्षेत्रीले १८ तथा प्रसुन थापाले १६ रन बनाए।
युनाइटेडको बलिंगमा देब्रे हाते स्पिनर आशिष पोखरेलले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १४ रन मात्र खर्चिए। प्रवेश थापाले २ तथा संजय खत्री र प्रमोद बस्नेतले समान १ विकेट लिए।
साउदर्न नाइट्स क्रिकेट क्लबले पहिलो क्वालीफायरमा भीएक्सएल युनाइटेडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। भीएक्सएलले दोश्रो क्वालिफायरमा गुर्खा ग्ल्याडीएटरलाई पराजित गर्दै फाइनल पुगेको थियो।