म्याथुज चम्किँदा बंगलादेशमाथि श्रीलंकाको क्लिनस्विप

बंगलादेशको श्रीलंका भ्रमण अन्तर्गत आज भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टिम श्रीलंकाले १२२ रनको फराकिलो जित हात पारेको छ। यसअघि भएका दुई एकदिवसीयमा समेत जित निकालेको श्रीलंकाले अन्तिम ४४ महिनामा हात पारेको पहिलो सिरिज जित रहेको छ।

बंगलादेश आफ्ना नियमित कप्तान मोर्शफे मोर्ताजा तथा विश्वकपमा वान म्यान आर्मी बनेका सकिब अल हसनको अनुपस्थितिमा मैदानमा उत्रिएको थियो। मोर्ताजा सिरिज अगाडी नै र सकिब सिरिजको दोश्रो खेलपछि बाहिरिएका हुन्।

टस जितेर पहिले ब्याटिंग गरेको श्रीलंकाले पुर्व कप्तान एन्जेलो म्याथुजको अर्धशतकको मद्दतमा ५० ओभरको समाप्तीमा ८ विकेट गुमाएर २९४ रन बनाएको थियो। ८९ रन बनाएका म्याथुजले ९० बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै ओपनर आविष्का फर्नान्डोले बाहेक २ देखि ६ नम्बरका सम्पुर्ण ब्याट्सम्यानले कम्तिमा ३० रनको योगदान दिएका थिए। कप्तान करुणारत्नेले ४६ रन, कुशल परेराले ४२ रन, कुशल मेन्डिसले ५४ रन तथा छैठौं नम्बरमा आएका डसुन शानकाले ३० रन बनाएका थिए।

बलिंगतर्फ बंगलादेशका लागि सौम्य सरकार (३/५६) तथा शफिउल इस्लाम (३/६८) ले समान ३/३ विकेट लिएका थिए।

जवाफमा लक्ष्य पछ्याएको पाहुना टिम बंगलादेश श्रीलंकाको बलिंग अगाडी घुँडा टेक्न पुग्दा ३६ ओभरमा मात्र १७२ रनमा अलआउट भयो। श्रीलंकाका डसुन शानकाले ३ विकेट (३/२७) तथा कसुन रजिथा (२/१७) र लाहिरु कुमारा (२/२६) ले समान २/२ विकेट लिए। श्रीलंकाले फिल्डमा समेत ३ महत्त्वपूर्ण रन आउट गरेको थियो।

बंगलादेशका लागि सौम्य सरकारले ८६ बलको सामना गर्दै ६९ रन तथा ताजुल इस्लामले अविजित रहँदै ३९ रन बनाएपनि अन्य खेलाडीको प्रदर्शन खराब रहँदा जितबाट धेरै टाढा रह्यो।

अन्तिम खेलमा ८९ रनको महत्त्वपूर्ण पारि खेल्नुका साथै ३ खेलको सिरिजमा महत्वपूर्ण १८७ रनको योगदान दिएका एन्जेलो म्याथुज प्लेयर अफ द सिरिज घोषित भए।

यस हारसँगै बंगलादेशले सन् २०१४ पछी पहिलोपल्ट लगातार ५ वटा एकदिवसीय खेलमा हार व्यहोर्यो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy