- विकेटनेपाल, मङ्सिर १३
आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको युएईसंगको खेलको लागि नेपाली क्रिकेट टिम आज बुधबार युएई प्रस्थान गर्दैछ। टिम ४ बजे बेलुका त्यसतर्फ जाने कार्यक्रम छ।
नेपाली टिमले युएईसंगको च्याम्पियनसिपको २ खेल ६ र ८ डिसेम्बरमा खेल्नु अघि अमेरिका र केन्यासंग खेल्नेछ। डिसेम्बर १ मा अमेरिकासंग तथा डिसेम्बर ३ मा केन्यासंग अभ्यास खेल खेल्नेछ।
युएईसंगको खेलको लागि सोमबार १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा यस अघि छैठौं चरणमा हंगकंगसंग खेल्दा टीममा नरहेका शक्ति गौचन र दिलिप नाथले कमब्याक गरेका छन्।
१४ सदस्यीय टिममा नरहेका र वैकल्पिक खेलाडीको सुचीमा रहेका २ खेलाडी अनिल शाह र कुशल भुर्तेल पनि नेपाली टिमसंग अतिरिक्त खेलाडीको रुपमा युएई जानेछन्। दुवै खेलाडीले यसअघि यु-१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् जसमध्ये अनिलले भर्खरै मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा अफगानिस्तानसंग अर्धशतक प्रहार गर्दै चर्चा कमाएका थिए भने कुशल लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दैआएका छन्।
नेपाली टिम –
पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ
बैकल्पिक खेलाडी – सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह
हंगकंगसंग गत महिना सम्पन्न च्याम्पियनसिपको छैठौं चरणको खेलमा १ खेलमा पराजित तथा १ खेल वर्षाको कारण सम्भब नभए पछि नेपाली टिम डिभिजन-२ मा रेलिगेट भएको थियो। युएई पनि नेपालसंगै डिभिजन-२ मा रेलिगेट भैसकेको अवस्थामा दुवै देश बीचको खेल प्रतिष्ठाको खेलको रुपमा हेरिएको छ।
बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन-२ मा उत्कृस्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय बिश्वकप छनौट खेल्न पाउनेछ।