गुल्सन र सागर चम्किदा एपीएफ १०५ रनमै सिमित

२०७७ फाल्गुन २९, शनिबार १२:११

पहिलो संस्करणको काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोलि शरद भेषावकर कप्तानीको नेपाल एपीएफ क्लब र मन्जित श्रेष्ठ कप्तानीको नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको एपीएफले २९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन बनाउंदै उपाधि जित्नका लागि नेपाल पुलिस क्लबलाई १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ। नेपाल पुलिस क्लबका तीव्र गतिका बलर गुल्सन झा र देब्रे हाते स्पिनर सागर ढकाल चम्किदा एपीएफ १०५ रनमै समेटिनु परेको हो।

एपीएफको ब्याटिंगमा मात्र ४ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सके। उसका लागि बसन्त रेग्मीले सर्वाधिक २२, अमर सिंह राउटेला रसन्दिप जोराले समान १८ तथा भुवन कार्कीले १४ रन बनाए।

एपीएफले सुरुवाती ३ विकेट १० रनको योगफलमै गुमाउन पुग्यो। ओपनर शंकर रानालाई गुल्सन झाले ४ रनमा अनिल शाहबाट क्याच आउट गराए। अर्का ओपनर आशिफ शेखलाई सागर ढकालले खाता नखोल्दै आउट पारे। त्यसपछि झाले कप्तान भेषावकरलाई खाता नखोली तथा भुवन कार्कीलाई १४ रनमा पेभेलियन फर्काउदै एपीएफलाई नाजुक अवस्थामा ल्याए।

सन्दिप जोरा १८ तथा सुमित महर्जन ४ रन बनाएर आउट भएपछि एक किनार सम्हालेका बसन्त रेग्मीले अमर सिंह राउटेलासंग सातौँ विकेटका लागि ३० रनको साझेदारी गर्दै एपीएफको इनिंग्स उकासे। २८ औं ओभरमा सागर ढकालले राउटेला र रेग्मी दुवैलाई आउट पारे। रेग्मीले ४१ बलमा ३ चौकाको सहयोगमा २२ तथा राउटेलाले ३० बलमा ३ चौका प्रहार गर्दै १८ रन बनाए। अन्तिममा अविनास बोहोराले ७ बलमा ३ चौकाको मद्धतमा १२ रन बनाउंदै एपीएफको योगफल १०० पार गराए।

पुलिसको बलिंगमा प्रतियोगितामा दोस्रो खेल खेलिरहेका झा (७-०-३६-४) र सागर ढकाल (७.४-०-२८-४) ले समान ४ विकेट लिए। यस्तै, पवन सरार्फ र ललित राजवंसीले समान १ विकेट हात पारे।

प्रतियोगिताको लिग चरणमा पुलिस अंकतालिकाको पहिलो तथा एपीएफ दोश्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो। दुवै टिमले समान ३ जित र १ हार बेहोरेता पनि पुलिस नेट रन रेटमा अघि रहेको थियो।

प्रतियोगिताको विजेताले पांच लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले ५० हजार रुपैयाँ तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले समान २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन् भने खेल खेलेको दिनमा प्रत्येक टिमका खेलाडीहरुले म्याच फिको रुपमा २ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/ind-vs-eng-t20-3-12-wn21/

https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy