मधेश प्रदेशलाई सहजै पराजित गर्दै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

एकतर्फी खेलमा मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा मधेश प्रदेशले दिएको १२३ रनको सामान्य लक्ष्य एपीएफले मात्र ३ विकेट क्षेतीमा २१.३ ओभरमै भेटायो।

लक्ष्य पछ्याउने क्रममा एपीएफ ओपनर प्रदिप ऐरी र आसिफ शेखले ६० रनको साझेदारी गरे। आसिफ २५ र प्रदिप ३३ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि लोकेश बम र सुमित महर्जनले ४९ रनको साझेदारी गरे। सुमित १३ रन बनाएर आउट भए। लोकेशले अविजित ३५ रन बनाए। मधेशका बलर रुपेसं सिंहले २ तथा राजेश यादवले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मधेश ३१ ओभरमा १२२ रनमा समेटिन पुग्यो। उसको लागि दशौँ नम्बरमा ब्याटिंग गरेका रुपेश सिंहले सर्वाधिक ३६ रन योगदान दिए। सन्तोष कार्कीले २०, इमरान शेखले १६ तथा अनिल सहले १३ रन बनाए।

एपीएफका फास्ट बलर कमल सिंह ऐरीले ४ विकेट ( ९-१-२७-४ ) लिए। भुवन कार्की र मौसम ढकालले २/२ तथा किशोर महतोले १ विकेट लिए।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा भोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy