अरियोको चार विकेट, पुलिस ७२ रनमा अलआउट

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप क्रिकेटमा बाग्मती प्रदेशलाई ७३ रनको झिनो लक्ष्य सुम्पेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पुलिसले २५.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७२ रन जोडेको हो ।

खराव सुरुवात गरेको पुलिसले १२ औं ओभरमा टोलीको मात्र १९ रन हुँदा चार विकेट गुमाएको थियो। टोलीको ११ रन हुँदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पुलिसले १८ रन हुँदा दोस्रो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको थियो।

ओपनर गएका धमलाले २७ बल खेल्दा एक चौका प्रहार गर्दै १० रन जोडेका थिए । उनी नवौं ओभरको पहिलो बलमा रन आउट हुन पुगे । यस अघि ९ बलमा दुई जोडेका कुशल नन्दन यादवको बलमा कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट हुन पुगे ।

तेस्रो विकेटको रुपमा पुलिसले अमित श्रेष्ठलाई गुमायो । तीन रनमा खेली रहेका श्रेष्ठलाई यादव एलबीडब्लु आउट गर्दै दोस्रो विकेट लिए । १२ औं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरी शुन्य रनमा पेभिलियन फर्किए । १२ बलको सामना गरेको ऐरी यादवको बोेल्ड हुँदै शुन्य रनमा पेभिलियन फर्किएका हुन् ।

पाँचौ र छैटौ विकेटेको रुपमा दिलिप नाथ र योगेन्द्र सिंह कार्की आउट भए । नाथले १० रन जोड्दा कार्कीको ६ रन रह्यो । अनिल शाहले १०, कप्तान मन्जित श्रेष्ठ १५, ललित राजवंशी एक र रासिद खानले एक रन जोडे । सागर ढकाल दुई रनमा अविजित रहे ।

बलिङतर्फ बाग्मतीका लागि अरियोले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै मात्र ७ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै नन्दन यादवले तीन विकेट लिए । सोनु देवकोटाले एक विकेट लिए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy