ACC U19 : अर्जुनको कीर्तिमानी शतकमा साउदी अरबलाई हराउँदै नेपाल सेमिफाइनलमा

साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियामा बिहीबार भएको खेलमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले हराएको हो। यो जितसँगै नेपाल समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याउने क्रममा साउदी अरब १९.१ ओभरमा ४६ रनमै समेटियो। साउदी अरबका लागि वरुण सरावननले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

नेपालका लागि दीपेश कँडेलले ६ विकेट लिए। त्यस्तै, आकाश चन्दले दुई र सुवास भण्डारीले एक विकेट लिए।

यसअघि ब्याटिङ गर्दै नेपालले आठ विकेटको क्षतिमा ३४७ रन बनाएको हो। नेपालका लागि अर्जुन कुमालले १११ बलमा १४२ रन बनाए। उनले १७ चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, नेपालका लागि आकाश त्रिपाठीले ८९, दीपक बोहराले २९, विशालविक्रम केसीले २४, दीपकप्रसाद डुम्रे र दीपक कँडेलले १४-१४ रन बनाए।

साउदी अरबका लागि मोहम्मद अहम्द राजा, मोहम्मद घायुर अहम्द र अब्दुल्लाह सिरजले दुई-दुई तथा जुहैर मुहम्मद र मुजीबुर रहमानले एक-एक विकेट लिए।

नेपालले समूह चरणका तीन खेल जितेको छ। यसअघि समूह चरणमा बहराइन र इरानलाई पराजित गरेको थियो।

अर्जुनको कीर्तिमान

अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि संरचनामा नेपाली ब्याटरको यो व्यक्तिगत उच्च स्कोर हो । यु-१९ को अन्तर्राष्ट्रिय क्रिकेटमा अर्जुनको यो दोस्रो शतक हो । फागुनमा उनले कुवेतविरुद्ध आईसीसी यु-१९ विश्वकप छनोटको एसिया क्षेत्रमा १ सय ८ रन बनाएका थिए ।

कनिष्क चौंगाईले सन् २००३ मा पाकिस्तानको कँराचीमा मालदिभ्सविरुद्ध र देव खनालले फागुनमा कुवेतविरुद्ध आईसीसी यु १९ विश्वकप छनोट एसिया क्षेत्रमा यूएईमा बनाएको समान १ सय २५ रन यसअघि यु-१९ अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो । अर्जुनले त्यो दुवै नेपाली कीर्तिमानलाई भङ्ग गरेका हुन् ।

रोहित पौडेलले सन् २०२२ को मार्चमा पपुवा न्यु गिनीविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा बनाएको १ सय २६ रन कुनै पनि संरचनामा नेपाली खेलाडीको यसअघिको उच्च स्कोर थियो । अर्जुनले बांगीस्थित वाईएसडी युकेएम ओभलमा रोहितको स्कोरलाई पनि उछिनेका हुन् । देवपछि यु १९ अन्तर्राष्ट्रियमा दुई शतक बनाउने कीर्तिमान पनि अर्जुनले बराबरी गरेका हुन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy