अर्जुन कुमाल ईपीएलमा पोखरा राइनोजमा आवद्ध, सुरु गरे अभ्यास

२०७८ भाद्र ३१, बिहीबार १६:५२

Arjun Kumal

नेपाली अन्डर-१६ टिम तथा गण्डकी प्रदेशका ब्याट्सम्यान अर्जुन कुमाल एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न काठमाडौं आइपुगेका छन्।

अर्जुनलाई ईपीएलको टिम पोखरा राईनोजले टिममा आवद्ध गरेको छ। उनि ट्यालेन्ट हन्ट मार्फत टिममा भित्रिएका हुन्। पहिलो पटक दायाँ हाते ब्याट्सम्यान नेपाली घरेलु टि-२० लिग खेल्न लागेका हुन्। लिग सेप्टेम्बर २५ तारिख देखि सुरु हुँदैछ।

भारतको दिल्लीमा बस्दै आएका १५ वर्षीय अर्जुनले गत वर्ष माघमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी  विश्वकप लिग-२ को लागि बोलाएको ३२ सदस्यीय बन्द प्रशिक्षण टिममा स्थान बनाउन सफल भएका थिए। गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा ४ खेलमा ११७ रन बनाउदै सानो उमेरमा परिपक्वता देखाएका कुमालले त्यसैको बलमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा स्थान बनाउन सफल भएका थिए। उक्त बन्द प्रशिक्षणमा सहभागिता पछि उनि पुनः भारत फर्किएका थिए। उनि भारतमै क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै आएका छन्।

पोखरा राइनोजका क्रिकेट निर्देशक दिपेन्द्र चौधरीले अर्जुनको क्षमता देखेर टिममा छनोट गरेको बताए – “अर्जुनको क्षमता देखेर हामीले उनलाई ट्यालेन्ट हन्टको बाटोबाट टिममा लिएका हौँ। हामि खेलको परिस्थिति अनुसार अर्जुनलाई पनि अन्तिम-एघारमा मौका दिन सक्छौं।” उनले बताए।

बिहिबार अभ्यासको क्रममा सुनिल धमला, अर्जुन कुमाल र मुख्य प्रशिक्षक उमेश पटवाल

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने ईपीएलको चौथों लागि पोखरा राइनोजले बुधबार देखि अधिकारिक रुपमा प्रशिक्षण सुरु गरिसकेको छ। अर्जुन बुधबार देखिनै प्रशिक्षणमा सामेल भैसकेका छन्। टिमले मुलपानी क्रिकेट मैदानमा अभ्यासको योजना बनाएता पनि वर्षाका कारण दुई दिन ललितपुरको हात्तीबन स्थिति हिमालय क्रिकेट एकेडेमीमा इन्डोर र नेटमा अभ्यास गर्यो।

राइनोजको प्रशिक्षकको रुपमा नेपालकै पूर्व मुख्य प्रशिक्षक उमेश पटवाल अनुबन्ध भएका छन्। पटवाल बुधबार नेपाल आएका थिए जसले बिहिबार देखि प्रशिक्षण समेत सुरु गरिसकेका छन्। टिममा बलिंग प्रशिक्षकको रुपमा पूर्व राष्ट्रीय क्रिकेटर तथा पोखराकै पूर्व खेलाडी शक्ति गौचन तथा सहायक प्रशिक्षकको रुपमा रिजन प्रजु आवद्ध रहेका छन्।

पोखरा राइनोज टिममा यो पटक अर्जुन सहित बिबेक यादब, रित गौतम, लोकेश बम, बिपिन रावल, नन्दन यादब, देब शाह, किशोर महतो जस्ता युवा खेलाडीहरु आबद्ध रहेका छन्। टिममा बिनोद भण्डारी, पृथु बास्कोटा, सुनिल धमला, सुशन भारि, बिक्रम सोब, बिपिन खत्री जस्ता अनुभवी खेलाडीहरु रहेका छन्।

पोखराले हालसम्म अधिकारिक रुपमा विदेशी खेलाडीको नाम सार्वजनिक गरेका छैन। दक्षिण अफ्रिकी ब्याट्सम्यान तथा अघिल्लो सिजन पोखराबाट खेलेका रिचर्ड लेभी खेल्ने भन्ने पक्का भैसकेको बताईएको छ। लेभीले गत सिजन ४ खेल खेल्ने क्रममा ५१ को औशत र १९६.१५ को प्रतियोगिताकै सर्वाधिक स्ट्राइक रेटमा २०४ रन बनाएका थिए। त्यस क्रममा उनले ललितपुर बिरुद्ध एक खेलमा ३९ बलमा ३ चौका र ९ छक्का मद्दतले ८४ तथा भैरहवा बिरुद्ध ३६ बलमा ७ चौका र ७ छक्का मद्दतले ७९ रन बनाएका थिए।

ईपीएलको गत सिजन पोखरा लिग चरणको ५ वटै खेलमा पराजित हुँदा प्लेअफ चरण पुग्न असफल रहेको थियो।

पोखरा राइनोजको बिहिबार अभ्यासको फोटोहरु 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy