रोहित र सोमपाल चम्किंदा एपीएफ बिरुद्ध आर्मीको शानदार जित

रोहित पौडेल र सोमपाल कामिले उच्च प्रदर्शन गर्दा शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ५१ रनले पराजित गर्दै नेपाल आर्मी क्लबले भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

समुह ‘बि’ अन्तर्गतको खेलमा आर्मीले दिएको १४० रनको लक्ष पछ्याएको एपीएफले १९.१ ओभरमा ८८ रन मात्र बनायो।

हेर्नुस स्कोरकार्ड 

लक्ष पछ्याउने क्रममा एपीएफको लागि कप्तान प्रदिप ऐरीले सर्वाधिक ३१ रन तथा रित गौतम र सुमित महर्जनले समान १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

७३ रन बनाउदा मात्र ३ विकेट गुमाएको एपीएफले बाँकी ७ विकेट गुमाउदा थप १५ रन मात्र जोड्न सक्यो। सोमपाल कामिले १५ औं ओभरमा तिन विकेट लिंदा एपीएफको मध्यक्रम धरासायी बन्यो। कामिले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। शाहब आलम, कुशल मल्ल र बिक्रम सोबले २/२ विकेट लिए।


यस अघि टस जितेर ब्याटिंग गरेको नेपाल आर्मी क्लबले २० ओभरमा ६ विकेट क्षेतीमा १३९ रन बनाएको थियो।

आर्मीको ब्याटिंगमा रोहित पौडेलले सर्वाधिक ८० रन बनाए जुन क्रममा उनले ५७ बलमा ९ चौका र १ छक्का प्रहार गरे। भिम शार्कीले २२ रन तथा बिनोद भण्डारीले १९ रन बनाए।

तेश्रो नम्बरमा ब्याटिंग गरेको रोहितले तेश्रो विकेटको लागि भिम शार्कीसंग ६१ रनको तथा बिनोद भण्डारीसंग छैठौं विकेटको लागि ४७ रनको साझेदारी गरे।

एपीएफको बलिंगमा किशोर महतो र भुवन कार्कीले २/२ विकेट तथा नन्दन यादव र अमर सिंह रौटेलाले १/१ विकेट लिए।

दिनको पहिलो खेलमा भारतको उत्तर प्रदेश-११ ले बंगलादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र मलेसियाका ८ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ।

समुह ‘ए’ मा रुपन्देही क्रिकेट संघ-११, मलेसिया-११, नेपाल पुलिस क्लब र पुश स्पोर्ट्स दिल्ली छन्। समुह ‘बि’ मा नेपाल आर्मी, शशस्त्र प्रहरी बल, उत्तर प्रदेश-११ र ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी ढाका छन्। समुह चरणमा सबै टिमले एक अर्कासंग १-१ खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।

एभरेस्ट प्रिमियर लिग आयोजना गर्दै आएको जोहरा स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिता अप्रिल १६ तारिखसम्म संचालन हुनेछ।

हेर्नुस स्कोरकार्ड 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy