विकेटनेपाल, चैत्र १७ – शनिबार । धनगढीमा आजदेखि सुरु भएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन समारोहमा पुर्व घोषित निर्णय अनुसार प्रशिक्षक अरुणकुमार अर्याल र राजु खड्कालाई सम्मानित गरिएको छ ।
प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले अरुणकुमार अर्याललाई “अर्जुन खड्का स्मृति सम्मान” र राजु खड्कालाई “धनगढी क्रिकेट सम्मानित” विधाबाट सम्मानित गरेको हो । दुबैलाई समान १/१ लाख रुपैंया र ताम्रपात्रसहित सम्मानित गरिएको छ ।
“अर्जुन खड्का स्मृति सम्मान” पुरस्कार धनगढी क्रिकेट एकडेमीका करिब २ वर्ष अगाडी निधन भएका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रदान गरिएको हो भने “धनगढी क्रिकेट सम्मान” नेपालका पुर्व खेलाडीहरुलाई प्रदान गरिने सम्मान रहेको छ ।
अरुणकुमार अर्यालले पछिल्लोपल्ट सन् २०१४ को एसियाली खेलकुदमा नेपाली महिला क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरेका थिए भने राजु खड्काले सन् २००४ मा नेपालका लागि अन्तिम खेलेका थिए । तर करिब १२ वर्षदेखि चितवनमा चितवन क्रिकेट एकेडेमी चलाईरहेका छन् जसको उत्पादन सन्दिप लामिछाने अहिले विश्वमा नै चर्चित भारतको घरेलु क्रिकेट प्रतियोगिता आईपिएलमा डेब्यु गर्ने तयारीमा रहेका छन् ।