असार ४ गते देखि प्रधानमन्त्री कप महिला टि-२०

प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगिता असार ४ गते देखि आयोजना हुने भएको छ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रम माझ प्रतियोगिताको विजेता ट्रफी, जर्सी र खेल तालिका समेत सार्वजनिक गरिएको छ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने प्रतियोगितालाई महाकाली स्पोर्ट्स सोसाईटीले व्यवस्थापन गरिरहेको छ।

यो पटक प्रतियोगिता कन्चनपुरको महेन्द्रनगरमा संचालन हुनेछ। स्थानीय खुल्ला मंच्च मैदानमा खेलहरु हुनेछ जसको लागि तयारी अन्तिम चरणमा पुगेको बताईएको छ।

यस अघि प्रतियोगिता जेठ २८ गतेबाट सुरु हुने भनिएता पनि प्राविधिक कारणले मिति सार्न परेको महाकाली स्पोर्ट्स सोसाईटीका सुमन भट्टले जानकारी दिए।

असार ४ गते देखि असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र १ विभागीय गरि कुल ८ टोलिको सहभागिता रहनेछ।  ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ।

समुह ‘ए’ मा विभागीय टिम शशस्त्र प्रहरी बल ( एपीएफ ) , सुदूरपश्चिम प्रदेश, प्रदेश-५ र गण्डकी प्रदेश रहेका छन्। समुह ‘बि’ मा प्रदेश-१ , प्रदेश-२ , प्रदेश-३ र कर्णाली प्रदेश रहेका छन्।

समुह चरणमा सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि समुहको उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

उद्घाटन खेलमा असार ४ गते गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् भने सोहि दिन प्रदेश-२ र कर्णाली प्रदेश बीच दोश्रो खेल हुनेछ।

प्रतियोगिताको कुल बजेट ८८ लाख रुपैयाँ रहेको छ जसमध्ये ३५ लाख रास्ट्रिय खेलकुद परिषदले उपलब्ध गराउने छ। नपुग रकम महाकाली स्पोर्ट्स सोसाइटीले जुटाउने छ ।

प्रतियोगिता जित्ने टिमले ५ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले ३० हजार तथा उत्कृस्ट बलर र ब्याट्सउमनले १५/१५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलमा उत्कृस्ट खेलाडीले २ हजार ५ सय पाउनेछ।

प्रतियोगिता आयोजना हुने खुल्ला मंच मैदान ( फोटो – दिनेश आग्री )

कार्यक्रममा प्रतियोगिताको अधिकारिक जर्सी र ट्रफी पनि सार्वजनिक गरिएको थियो। प्रशिक्षक जगत टमाटा, महाकाली स्पोर्ट्सका अध्यक्ष सुमन भट्ट तथा एपीएफ कप्तान सिता राना मगरले ट्रफी सार्वजनिक गरेका थिए।

प्रतियोगिता आयोजना हुने मैदानलाई स्तरीय बनाउन मेहनत गरिएको र यो आयोजनाको कारण कन्चनपुरमा क्रिकेटको माहोल बढ्ने कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले विश्वास व्यक्त गर्नु भयो।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy