रेसमा ४ टिम, ओमानको अग्रता, वर्षाको बाधा ( एसिया कप छनौट-चौथो दिन )

२०७५ भाद्र १७, आईतवार २०:३९

  • विकेटनेपाल,१७ भदौ 

एसिया कप छनौट प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न खेलहरुमा नेपाल र युएईले जित दर्ता गर्दा हंगकंग र ओमानले भने अंक बाँडेका छन्। चौथो दिनका खेल सम्पन्न हुँदा ओमान ४ खेलमा ७ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ। यस्तै युएई ६ अंक सहित दोस्रो, हंगकंग ५ अंक सहित तेस्रो, नेपाल ४ अंक सहित चौथो, मलेसिया २ अंक सहित पाँचौं र जित बिहिन सिंगापुर अन्तिम स्थानमा रहेका छन्।

प्रतियोगिताको अन्तिम दिन मंगलबार नेपालले हंगकंगको, युएईले ओमानको तथा मलेसियाले सिंगापुरको सामना गर्नेछ। फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले हंगकंगलाई ठुलो अन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाई पनि राम्रो अन्तरले पराजित गर्नुपर्नेछ। ओमानको ७ अंक रहेकोले ओमानलाई पछि पार्नु नेपालको लागि सम्भब छैन भने युएईलाई ओमानले पराजित गरे ६ अंकनै भए पनि युएईको नेट रन रेट ( १.५८३ ) नेपालको ( ०.१७६ ) भन्दा निकै माथि रहेको हुँदा नेपाललाई मुस्किल भने हुनेछ।

पढ्नुस के-के भए चौथो दिनको खेलहरुमा 

नेपाल vs सिंगापुर :

जित्नै पर्ने दवाब रहेको खेलमा अनिल साहले ४३ तथा दिपेन्द्र ऐरीले ३३ रन बनाएपछि नेपालले सिंगापुरले दिएको १५२ रनको लक्ष्य २८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। यसअघि टस जितेर ब्याटिंग गरेको सिंगापुरका लागि चेतन सूर्यवंशीले ६० रन बनाएपछि ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन जोडेको थियो। नेपालको बलिंगतर्फ म्यान अफ दि म्याच ललित राजबंशीले ३ विकेट लिन २७ तथा सन्दिपले लामिछानेले समान विकेट लिन ३५ रन खर्चेका थिए।

Lalit Rajbanshi
Lalit Rajbanshi

युएई vs मलेसिया :

प्रतियोगितामा बलियो टोलीका रुपमा देखिएको युएईले आइतवार सम्पन्न खेलमा मलेसियामाथि ठुलो जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै मलेसियाले दिएको ९३ रनको झिनो लक्ष्य युएईले मात्र ८.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा रोहन मुस्तफाले २६ बलमा ३८ रन तथा रामिज शेह्जादले १३ बलमा २६ रन जोडे। यसअघि पहिले ब्याटिंग गरेको मलेसियाले खराब प्रदर्शन गर्दै ३१.३ ओभरमा ९२ रनमा समेटिएको थियो। युएईको कसिलो बलिंगमा अहमद राजाले सर्वाधिक ४ तथा मोहम्मद नाबिद, रोहन मुस्तफा र आमिर हयातले समान २-२ विकेट लिएका थिए।

हंगकंग vs ओमान :

बर्षा बाधक बनेको खेलमा हंगकंग र ओमानले भने समान १-१ अंक बाढ्न पुगे। पहिले ब्याटिंग गर्दै ओमानले दिएको १८४ रनको पिछा गरेको हंगकंगले ५ ओभरमा कुनै विकेट नगुमाई २५ रनको स्कोर जोडेका समयमा बर्षा बाधक बनेको थियो। सो अवस्थाबाट खेल अगी बढ्न नसक्दा दुवै टोलीले १-१ अंक प्राप्त गरे। पहिले ब्याटिंग गरेको ओमानले भने निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १८३ रन जोडेको थियो। उसका मोहम्मद नदीमले ५४ तथा अहमद फयाजले ५० रन जोडेका थिए। हंगकंगको बलिंगमा एहसान नवाजले सर्वाधिक ४ विकेट लिएका थिए।

मंगलवारका खेलहरु :

नेपाल vs हंगकंग – युएई vs ओमान – मलेसिया vs सिंगापुर

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy