एसिया कप टि-२० रद्द भएको गांगुलीको खुलासा , कारण यस्तो

२०७७ असार २५, बिहीबार ०८:१४

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) का अध्यक्ष सौरभ गांगुलीले यो वर्षको एसिया कप २०२० प्रतियोगिता रद्द भएको बताएका छन्।

गांगुलीले सोमबार एक च्याट सोको दौरान भारतले खेल्ने आगामी सिरिज बारे सोधिएको प्रश्नमा जवाफ दिने क्रममा प्रतियोगिता रद्द भएको बताएका हुन्।

गांगुलीले बताए – “यो बताउन धेरै मुस्किल छ कि भारतले कुन सिरिज पहिला खेल्नेछ। यो बारेमा कसैलाई थाहा छैन कि कोरोना कहिले सकिनेछ। हामि प्रतिक्षा मात्र गर्न सक्छौं। हामि पुरै तयार छौं कि जब क्रिकेट सुरु हुनेछ भारतमा मैदानहरु तयार हुनेछ। हामीलाई भारतमा क्रिकेट सुरु गर्न हतार छैन। भारतले पहिलो सिरिज डिसेम्बरमा अस्ट्रेलिया बिरुद्ध खेल्नेछ। सेप्टेम्बरमा हुने एसिया कप रद्द भैसकेको छ”

गांगुलीले एसिया कप रद्द हुनुको कारण कोरोना रहेको बताएका हुन्। यस्तै गांगुलीले आईपीएल आयोजना बारे बोल्दै अहिले कुनै पनि कुरा भन्न नसकिने बताए।

“हामिसंग आईपीएलको लागि कुनै खाली समय अहिले छैन त्यसैले अहिले भन्न मुस्किल छ। टि-२० विश्वकप अक्टोबर-नोभेम्बरमा हुनेवाला छ र यो आयोजना भए आईसीसीलाई फाइदा हुन्छ। जबसम्म हामिले आईसीसीबाट टि-२० विश्वकप बारे कुनै निर्णय पाउदैनौ आईपीएललाई लिएर कुनै ठुलो निर्णय लिन सक्नेछैनौ।” गांगुलीले प्रस्ट पारे।

यस अघि पाकिस्तान क्रिकेट बोर्डले एसिया कप तोकिएको समयमै आयोजना हुने बताएको थियो। आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानले श्रीलंकालाई आयोजना अवसर दिने बताएको थियो।

एसिया कपमा एसियाली टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनौट प्रतियोगिताबाट आउने १ राष्ट्र गरि ६ टिम सहभागी थिए। अगस्टमा मलेसियामा एसिया कप छनौट प्रतियोगिता आयोजना हुने तय भएको थियो जसमा हंगकंग, कुवेत, सिंगापुर र युएई सहभागी हुँदै थिए। अब एसिया कप नहुने भएपछि एसिया कप छनौट हुने पनि पक्का भएको छ।

युएईमा आयोजित २०१८ एसिया कप भारतले जितेको थियो

नेपाल भने लगातार दोश्रो पटक एसिया कप रेसबाट बाहिर भैसकेको थियो। थाइल्याण्डमा फेब्रुअरीमा सम्पन्न एसिया कप पूर्वी छनौटमा नेपाल चौथो भएको थियो। सिंगापुर र हंगकंग पूर्वी क्षेत्रबाट छनौट भएका थिए। नेपालले ४ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। मलेसिया र हंगकंगसंग पराजित भएको नेपालले थाइल्याण्ड पराजित गरेको थियो भने सिंगापुरसंगको खेल वर्षाले रोकिएको थियो।

धेरैले पढेको :- 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy