अभ्यास खेलमा अस्ट्रेलियाको लगातार दोश्रो जित, श्रीलंका पराजित

इंग्ल्याण्डमा मे ३० देखि सुरु हुने एकदिवसीय विश्वकप प्रतियोगिता अघि अभ्यास खेल अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ। 

आजै सम्पन्न अर्को अभ्यास खेलमा अफगानिस्तानलाई इंग्ल्याण्डले ९ विकेटको विशाल अन्तरले पराजित गरेको थियो।  

रोज बल स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गर्दै श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर पुरा गर्दै ५ विकेटको जित दर्ता गरेको हो। यस अघि खेलिएको अभ्यास खेलमा पनि अस्ट्रेलियाले आयोजक इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको थियो।

अस्ट्रेलियाको जितमा ओपनर उस्मान ख्वाजाले सर्वाधिक ८९ रन बनाए जुन क्रममा १०५ बलमा ३ चौका प्रहार गरे। शन मार्शले ३४, ग्लेन म्याक्सवेलले ३६ तथा मार्कस स्टोइनिसले ३२ रन बनाए।

श्रीलंका बलर जेफ्रे भानडरसेले २ विकेट ( ७.५-०-५१-२ ) लिए भने नुवान प्रदिप, मिलिन्दा सिरिवर्दना र धनन्जय डी सिल्भाले १/१ विकेट लिए।

पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २३९ रनको योगफल तयार गरेको थियो। ओपनर लाहिरु थिर्मानेले सर्वाधिक ५६ ( ६९ बलमा ७ चौका ) तथा धनन्जय डी सिल्भाले ४३ रन बनाए।

अस्ट्रेलियन बलर एडम जाम्पाले २ विकेट ( ९-०-३९-२ ) तथा मिचेल स्टार्क, प्याट कमिन्स, केन रिचर्डसन, ग्लेन म्याक्सवेल, नाथन लायन र स्टिभ स्मिथले १/१ विकेट लिए।

एकदिवसीय विश्वकप अन्तर्गत अस्ट्रेलियाले अफगानिस्तानसंग जुन १ तारिकसंग पहिलो खेल खेल्नेछ भने श्रीलंकाको पहिलो खेल अफगानिस्तानसंग जुन ४ तारिकमा रहेको छ। प्रतियोगिताको उद्घाटन खेल अन्तर्गत मे ३० तारिकमा आयोजक इंग्ल्याण्ड र दक्षीण अफ्रीकाले प्रतिस्पर्धा गर्नेछन्।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy