अस्चार्यजनक नतिजा ल्याउन सक्ने टिमको रुपमा हेरिएको अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले जारि एक दिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ।
डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले अफगानिस्तानले पहिले ब्याटिंग गर्दै दिएको २०८ रनको लक्ष्य मात्र ३ विकेट गुमाएर सहजै पछ्यायो। अफगानिस्तानी स्पिनर मुजिब उर् रहमान र राशिद खानले प्रभावित बनाउने आंकलन गरिएपनि अस्ट्रेलियन ब्याट्सम्यानहरुले खुलेर ब्याटिंग गरे।
लामो प्रतिबन्ध पछि टिममा फर्केका ओपनर डेभिड वार्नरले आईपीएलको आफ्नो फर्मलाई निरन्तरता दिने क्रममा अविजित ८९ रन बनाए जुन क्रममा ११४ बलमा ८ चौका प्रहार गरे। यस्तै कप्तान आरोन फिन्चले ६६ रन बनाउन मात्र ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
पहिलो विकेटको लागि वार्नर र फिन्चले ९६ रनको साझेदारी गर्दै सहज जितको आधार तयार गरेका थिए । उस्मान ख्वाजा १५ तथा स्टिभ स्मिथ १८ रन बनाएर आउट भए।
अफगानिस्तान बलर मुजिब उर् रहमान, गुल्बदीन नैब र राशिद खानले समान १/१ विकेट लिए। महँगो सावित हुने क्रममा मुजिबले ४.५ ओभरमा ४५ रन खर्चिन पुगे।
अफगानिस्तानको ब्याटिंग
यस अघि काउन्ट्रि मैदान, ब्रीस्टोलमा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो।
कमजोर सुरुवात गरेको अफगानिस्तानका ओपनर मोहम्मद शहजाद र हज्रतुल्लाह जजई दुवै खाता नखोली आउट भएका थिए।
५/२ को अवस्थाबाट रहमत शाह र हश्मतुल्लाह शाहिदीले अर्धशतकीय साझेदारी गरे। शाहिदी १८ रन तथा रहमत ४३ रन बनाएर आउट भए। लगत्तै मोहम्मद नबि पनि ७ रन बनाएर आउट हुँदा अफगानिस्तान ७५/४ ( १९.२ ओभर ) को नाजुक अवस्थामा पुग्यो।
कम योगफलमै समेटिने खतरा बढेको बेला कप्तान गुल्बदीन नैब र नाजिबुल्लाह जद्रानले ८३ रनको साझेदारी गर्दै योगफल १५० पार गराए। नैबले ३१ रन बनाए भने जद्रानले ५१ रन बनाउडा ४९ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
राशिद खानले आक्रामक ब्याटिंग गर्दै ११ बलमा २ चौका र ३ छक्का मदतले २७ रन बनाउदा योगफल २०० पार भयो।
३८.२ ओभरमा २०७ रनमा अफगानिस्तान समेटिन पुग्यो।
अस्ट्रेलियाको लागि प्याट कमिन्स ( ८.२-०-४०-३ ) र एडम जाम्पा ( ८-०-६०-३ ) ले ३/३ विकेट तथा मार्कस स्टोइनिस ( ७-१-३७-२ ) ले २ तथा मिचेल स्टार्क ( ७-१-३१-१ ) ले १ विकेट लिए। स्कोरकार्ड , अंकतालिका
शनिवार सम्पन्न दोश्रो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटको विशाल अन्तरले पराजित गरिसकेको छ ।