फिंच घाइते हुँदा अस्ट्रेलियाद्वारा नयाँ कप्तान नियुक्त

२०७८ श्रावण ५, मंगलवार ०८:१७

वेस्टइन्डिज बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा एलेक्स केरीले अस्ट्रेलियाको कप्तानी सम्हाल्ने भएका छन्।

यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिजको पाँचौ खेलको दौरान घुंडाको चोटको कारण आरोन फिंच बाहिर भएपछि क्रिकेट अस्ट्रेलियाले २९ वर्षीय विकेटकिपर ब्याट्सम्यान केरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको हो।

केरी अस्ट्रेलियाको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासको २६ औं कप्तान बन्ने भएका छन्। उनिसंग यस अघि बिग ब्यास लिगमा एडीलेड स्ट्राइकर्स, अस्ट्रेलिया ‘ए’ तथा साउथ अस्ट्रेलियाको कप्तानी सम्हालेको अनुभव रहेको छ।

नियमित उपकप्तान प्याट कमिन्सको अनुपस्थितिमा केरीले कप्तानी पाएका हुन्। कमिन्स लगायत डेभिड वार्नर र स्टिभ स्मिथ जारि वेस्टइन्डिज र यस पछि हुने बंगलादेश भ्रमणमा पनि उपलब्ध छैनन्।

घाइते फिंच एकदिवसीय सिरिजको दौरान टिममा फर्कने सम्भावना रहेकोछ। उनको अवस्था दैनिक जाँच गरिनेछ जसबाट दोश्रो र तेश्रो खेलको लागि उपलब्ध हुन सक्ने या नसक्ने थाहा हुनेछ।


कप्तान नियुक्त हुनु केरीले ठूलो अवसरको रुपमा लिएका छन् – “अस्ट्रेलियाको लागि कप्तानी गर्नु ठूलो सम्मानको कुरा हो जसको लागि म धन्य महसुस गरिरहेको छु। फिंच हाम्रो कप्तान हुन् जो फिट भएर पुनः जिम्मेवारी सम्हाल्नेछन्। आशा गर्छु यो भूमिका म राम्रोसंग निभाउनेछु।”

अस्ट्रेलियाका प्रमुख प्रशिक्षक जस्टिन ल्यांगरले बताए- “लामो समय देखि एलेक्स जिम्मेवार र अनुशासित खेलाडीको रुपमा प्रस्तुत भएका छन् जो राम्रो नेतृत्वकर्ता हुन्। फिंच घाइते हुँदा एलेक्सले कप्तानीको अनुभव लिने मौका पाएका छन्। उनले अन्य सिनियर खेलाडीको साथमा राम्रो प्रदर्शन गर्नेमा मलाई सन्देह छैन।”

३ वर्ष अघि इंग्ल्यान्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका केरीले ४२ एकदिवसीय खेल्ने क्रममा ३७ इनिंग्समा १ शतक र ४ अर्धशतक प्रहार गर्दै ३६.३७ को औशतले १,०९१ रन बनाएका छन्।

वेस्टइन्डिज भ्रमण अन्तर्गत तीन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज जुलाई २० तारिख देखि सुरु हुँदैछ। यस अघि सम्पन्न ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा अस्ट्रेलिया १-४ ले पराजित हुन पुगेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy