अस्ट्रेलिया बिरुद्ध बंगलादेशको ऐतिहासिक जित, नसुमको घातक बलिंग

२०७८ श्रावण १९, मंगलवार २१:२५

अस्ट्रेलियाको बंगलादेश भ्रमण अन्तर्गत पाँच खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि बंगलादेशले अस्ट्रेलियालाई २३ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ। सिरिजमा बंगलादेशले १-० को अग्रता समेत हाँसिल गरेको छ।

ढाका स्थित शेरे बांग्ला नेसनल स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले दिएको १३२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो। १०८ रनको योगफल अस्ट्रेलियाको पुरै २० ओभर ब्याटिंग गर्दा इतिहासकै कम योगफल हो।


टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशको अस्ट्रेलिया बिरुद्ध यो इतिहासकै पहिलो जित हो। यस अघि दुई देश बीच सम्पन्न ४ वटै खेलमा अस्ट्रेलिया विजयी बह्येको थियो। यस अघि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रियमा बंगलादेशले अस्ट्रेलियालाई एक/एक पटक पराजित गर्न सकेको थियो। तिन वटै फर्म्याटमा अब बंगलादेशले अस्ट्रेलिया बिरुद्ध समान एक जित दर्ता गरेको छ।

अस्ट्रेलियाको लागि मिचेल मार्शले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मिचेल स्टार्कले अविजित १४ रन तथा कप्तान म्याथु वेडले १३ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले सुरुवाती ३ विकेट ११ रनको योगफलमा गुमाउन पुगेको थियो। तेश्रो नम्बरमा ब्याटिंग गरेका मिचेल मार्शले म्याथु वेडसंग ३८ रनको एस्टन एगरसंग २२ रनको साझेदारी गरे। १६ औं ओभरमा मार्शलाई नसुम एहमदले क्याच आउट गराउदै बंगलादेशलाई खेलमा हावी गराए। त्यसपछि मिचेल स्टार्कले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट जाने क्रम निरन्तर रहंदा अस्ट्रेलिया लक्ष्यको नजिक पनि पुग्न सकेन।

मिचेल मार्शले ४५ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन

बंगलादेशको बलिंगमा मात्र पाँचौ टि-२० अन्तर्राष्ट्रिय खेलेका देब्रे हाते स्पिनर नसुम एहमदले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ४ ओभरमा मात्र १९ रन खर्चेर ४ विकेट लिए। मुस्तफिजुर रहमान ( ४-०-१६-२ ) र शोरिफुल इश्लामले ( ३-०-१९-२ ) समान २ विकेट तथा  शाकिब अल हसन र मेहदी हसनले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट क्षेतीमा १३१ रन बनाएको थियो। उसको लागि शाकिब अल हसनले सर्वाधिक ३६ रन, मोहम्मद नैमले ३० रन, अफिफ होसेनले २३ रन तथा कप्तान महमुदुल्लाहले २० रन बनाए। शाकिब र महमुदुल्लाहले तेश्रो विकेटको लागि ३६ रनको साझेदारी इनिंग्सकै सर्वाधिक साझेदारी रह्यो।

अस्ट्रेलियाको बलिंगमा जोश हेजलवुडले ३ विकेट ( ४-०-२४-३ ) , मिचेल स्टार्कले २ विकेट ( ४-०-३३-२ ) तथा एडम जाम्पा र एन्ड्रयु टाईले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल भोलि बुधबार खेलिनेछ। अगस्ट ६, अगस्ट ७ र अगस्ट ९ तारिखमा तेश्रो, चौथो र पाँचौ खेल हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy