अस्ट्रेलियासंग पहिलो वानडेमा हारपछि भारतीय कप्तान कोहलीले के भने

२०७७ मंसिर १२, शुक्रबार २२:१३

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत पहिलो एकदिवसीयमा बिराट कोहली कप्तानीको टिम घरेलु टिमसंग ६६ रनले पराजित भएपछि कप्तान कोहलीले हार स्वीकार्दै बहाना नबनाउने प्रतिक्रिया दिएका छन्।

सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको ३७५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारतले ५० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाको जितमा कप्तान आरोन फिंच र स्टिभ स्मिथले शतक बनाए भने एडम जम्पाले ४ विकेट लिए। भारतको लागि हार्दिक पान्ड्याले ९० तथा शिखर धवनले ७४ रन बनाएता पनि जितको लागि पर्याप्त हुनसकेन।

“हामीले तयारीको लागि पर्याप्त समय पाएका थियौं, मलाई लाग्दैन कुनै बहाना बनाउनु जरुरि छ। हामीले लामो समयमा लामो फर्म्याटको क्रिकेट खेल्यौं। हामि टि-२० क्रिकेट खेलीरहेका थियौं।”

“तर त्यति भन्दै गर्दा पनि हामीले धेरै बिगतमा वानडे क्रिकेट खेलेका छौँ। खेलको २५-२६ ओभर पछिको खेलाडीहरुको शारीरिक भाषा चित्तबुझ्दो थिएन। यदी तपाईको फिल्डिंग कमजोर हुन्छ भने स्तरीय टिमले तपाईलाई पछि पार्छ।” कोहलीले खेल पछि कुराकानीमा बताए।

कोहलीले टिममा अलराउण्डरको अभाव देखाउदै छैठौं बलरको कमि महसुस भएको बताए –

“हामीले खेलमा पार्ट-टाईम बलरलाई ओभर दिने बिकल्प खोज्नु पर्नेछ। दुर्भाग्यवस हार्दिक बलिंग गर्न तयार छैनन् जसलाई हामीले स्वीकार गर्नुपर्छ। यो पक्षमा हामीले काम गर्नु पर्छ जुन टिम सन्तुलनको महत्वपूर्ण पाटो हो। स्टोइनिस र म्याक्सवेलले अस्ट्रेलियाको लागि त्यो काम गर्छन्।”

कोहलीले टिममा छैठौं बलरको कमि भएको बताए

कोहलीले खेलमा आफ्नो टिमको ब्याटिंगमा हार्दिक पान्ड्याको ७६ लमा ९० रनको इनिंगको भने प्रशंसा गरे –

“ब्याटिंग पक्षबाट हेर्दा हामीले धेरै छलफल गरेका छौँ। सबै ब्याट्सम्यानहरु प्रतिबद्ध छन्। मलाई लाग्छ हामीले उत्कृस्ट प्रयास गर्यौं। हार्दिकको इनिंग त्यसको उदाहरण हो। एउटा ब्याटिंग युनिटको रुपमा हामि सकरात्मक क्रिकेट खेल्न प्रतिबद्ध छौँ जुन भविष्यमा पनि कायमै राख्नेछौँ।”

९० रन बनाएका हार्दिक पान्ड्याले आफु बलिंग गर्न अझै तयार नरहेको बताएका छन् –

“म मेरो बलिंगमा नेटमा मेहनत गरिरहेको छु। तर म अझै म्याचको लागि फिट छैन। म सही समयमा बल लिएर उपस्थित हुनेछु। म लामो बाटो हेरीरहेको छु। म बलिंग गर्नको लागि शतप्रतिशत फिट हुन चाहन्छु। म अत्तालिन चाहन्न। प्रक्रिया जारि छ। म बलिंग गर्न तयार छैन।”

“म जब ब्याटिंग गर्छु तब आफुलाई ब्याट्सम्यानको रुपमा महसुस गर्छु।” पान्ड्याले बताए।

अस्ट्रेलियाका कप्तान तथा खेलमा शतक बनाएका आरोन फिन्चले आफु भाग्यमानी भएको प्रतिक्रिया दिए –

“मैले १-२ वटा मौका पाए जसमा म भाग्यमानी थिए। टिममा सबैको क्षमता र कमजोरी फरक छन्। डेभि ( डेभिड वार्नर ) सुन्दर खेलीरहेका छन्। उनको रिदम उत्कृस्ट देखिएको छ। स्मिथ भिन्न स्तरको देखिएका थिए। म्याक्सवेलसंग दुर्लभ क्षमता रहेको छ जसले बिपक्षीमा दबाब बनाउने गर्छन्।” फिन्चले बताए।

सिरिज अन्तर्गत दोश्रो एकदिवसीय नोभेम्बर २९ तारिख आइतबार खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy