रोमान्चक खेलमा अस्ट्रेलिया ४ रनले विजयी, मार्शको अलराउण्ड प्रदर्शन

२०७८ असार ३१, बिहीबार ०९:०४

मिचेल स्टार्कको अन्तिम ओभरमा शानदार बलिंग तथा मिचेल मार्शले अलराउण्ड प्रदर्शन गर्दा घरेलु टोलि वेस्टइन्डिजलाई चौथो खेलमा अस्ट्रेलियाले ४ रनले पराजित गरेको छ। पहिलो तिन खेल जित्दै वेस्टइन्डिजले सिरिज भने जितीसकेको छ।

सेन्ट लुसिया स्थित डेरन स्यामी नेसनल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतीमा १८५ रन मात्र बनाउन सक्यो।

वेस्टइन्डिजको लागि लेन्डल सिमोन्सले सर्वाधिक ७२ रन बनाए जुन क्रममा ४८ बलमा १० चौका र २ छक्का प्रहार गरे। इभिन लुइसले ३१ रन, फाबियन एलेनले २९, आन्द्रे रसेलले अविजित १८ तथा निकोलस पुरनले १६ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिज ओपनर लेन्डल सिमोन्स र इभिन लुइसले आक्रामक सुरुवात गरेका थिए। पाँचौ ओभरमा लुइस आउट हुनु अघि दुवैले ६२ रनको साझेदारी गरिसकेका थिए। त्यसपछि सिमोन्सले एक किनार सम्हालेर ब्याटिंग गरेता पनि क्रिस गेल र आन्द्रे फ्लेचरले उनलाई धेरै बेर साथ दिएनन्।

सिमोन्सले अर्धशतक बनाए

सिमोन्स र कप्तान निकोलस पुरनले चौथो विकेटको लागि ३५ रन जोडे। १६ औं ओभरमा पुरन र सिमोन्सलाई लगातार बलमा मिचेल मार्शले क्याच आउट गर्दै अस्ट्रेलियालाई खेलमा फर्काए। त्यसपछि आन्द्रे रसेल र फाबियन एलेनले छैठौं विकेटको लागि ४७ रन जोडे।

जितको लागि अन्तिम २ ओभरमा ३६ रन आवस्यक हुँदा १९ औं ओभरमा राइली मेरेडीथले २५ रन खर्चिए र अन्तिम बलमा एलेनलाई क्याच आउट गराए। त्यस अघि एलेनले लगातार तिन छक्का हिर्काएका थिए।

अन्तिम ओभरमा जित्न ११ रन आवस्यक रहंदा मिचेल स्टार्कले उत्कृस्ट बलिंग गरे। स्टार्कले आन्द्रे रसेललाई ओभरको पहिलो ५ बलमा रननै बनाउन दिएनन्। अन्तिम बलमा रसेलले छक्का प्रहार गरेता पनि जित दिलाउन सकेनन्। स्टार्कले ओभरमा मात्र ६ रन खर्चदै अस्ट्रेलियालाई जित दिलाए।

अस्ट्रेलियाको बलिंगमा मिचेल मार्शले सर्वाधिक ३ विकेट ( ४-०-२४-३ ) लिए भने एडम जाम्पाले २ ( ४-०-२०-१ ) तथा राइली मेरेडीथले १ विकेट ( ४-०-५७-१ ) लिए। विकेटविहिन मिचेल स्टार्कले ४ ओभरमा ३७ रन खर्चिए।

टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १८९ रन बनाएको थियो।

अस्ट्रेलियाको लागि मिचेल मार्शले सर्वाधिक ७५ रन बनाए जुन क्रममा ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान आरोन फिंचले ३७ बलमा ५ चौका र ३ छक्का मद्दतले ५३ रन बनाए। ड्यानियल क्रिस्चियनले अविजित २२ रन बनाए।

मिचेल मार्श

ओपनर म्याथु वेड दोश्रो ओभरमा आउट भएपछि फिंच र मार्शले दोश्रो विकेटको लागि ११४ रनको साझेदारी गरेका थिए। लेग स्पिनर हेडन वाल्सले फिंचलाई र लगत्तै बलमा एलेक्स केरीलाई पेभेलियन फर्काए। त्यस पछि मोइसेस हेनरिक्स र एस्टन टर्नरले पनि उल्लेख्य योगदान दिन सकेनन्। १८ औं ओभरको पहिलो बलमा मार्शलाई फाबियन एलेनले क्याच आउट गराए। सातौँ विकेटको लागि क्रिस्चियन र मिचेल स्टार्कले २३ रनको साझेदारी गरे।

अन्तिम ३ ओभरमा वेस्टइन्डिजले १ विकेट मात्र लिन सके पनि २३ रन मात्र खर्चियो।

वेस्टइन्डिजको बलिंगमा लेग स्पिनर हेडन वाल्सले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए। ओशेन थोमस, आन्द्रे रसेल र फाबियन एलेनले समान १ विकेट लिए।

सिरिज अन्तर्गत वेस्टइन्डिज यस अघिको तिन वटै खेलमा क्रमशः १८ रन, ५६ रन र ६ विकेटले विजयी भएको थियो। सिरिजको अन्तिम खेल जुलाई १६ तारिखमा खेलिनेछ जसपछि जुलाई २० तारिखबाट तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy