स्मिथको धैर्यता र कौलटरको आक्रामक इनिंग , खराब स्थितिबाट उठ्दै अस्ट्रेलियाले बनायो २८८

२०७६ जेष्ठ २३, बिहीबार १९:११

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दशौँ खेलमा अस्ट्रेलिया र वेस्ट इन्डिज प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले वेस्ट इन्डीजलाई २८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ट्रेन्ट ब्रिज नटिंघममा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियालाई एक समय सानो योगफलमा समेटिने खतरा थियो। उसले आफ्नो पहिलो ५ विकेट ७९ रनको योगफलमै गुमाउन पुग्यो। आरोन फिन्च ६, डेभिड वार्नर ६, उस्मान ख्वाजा १३, ग्लेन म्याक्सवेल ० तथा मार्कस स्टोइनिस १९ रन बनाएर आउट भए।

त्यसपछि अस्ट्रेलियाको इनिंग अघि बढाउन पुर्व कप्तान स्टिभ स्मिथ र विकेटकिपर ब्याट्सम्यान एलेक्स केरेले छैठौं विकेटको लागी ६८ रनको साझेदारी गरे। केरे ४५ रन बनाएर आउट भए पछि स्मिथले नाथन कौलटर नाइल संग शतकीय साझेदारी गरे।

७३ रनको उत्कृस्ट इनिंग खेल्दै ४५ औं ओभरमा स्मिथ आउट भए जुन क्रममा उनले १०३ बलमा ७ चौका प्रहार गरे। अर्को तर्फ आक्रामक इनिंग खेलेका कौलटर ४९ औं ओभरमा आउट भए जसअघि उनले ६० बलमा ८ चौका र ४ छक्का मदतले ९२ रन प्रहार गरे। पहिलो शतक बनाउन बाट भने उनि चुक्न पुगे।

फलस्वरूप ७९/५ ( १६.१ ) बाट अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रन बनायो।

वेस्ट इन्डिजको बलिंगमा कार्लोस ब्राथवेटले सर्वाधिक ३ ( १०-०-६७-३ ) तथा ओशेन थोमस ( १०-०-६३-२ ) , शेल्डन कटरेलले ( ९-०-५६-२ ) र आन्द्रे रसेल ( ८-०-४१-२ ) ले २/२ विकेट तथा जेसन होल्डरले १ विकेट ( ७-२-२८-१ ) लिए।

प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। यस्तै वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy