चलेन अस्ट्रेलियाको ब्याटिंग, वेस्टइन्डिजको शानदार जित

२०७८ असार २७, आईतवार ०८:४०

भ्रमण टोलि अस्ट्रेलियालाई दोश्रो खेलमा ५६ रनले पराजित गर्दै वेस्टइन्डिजले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजमा २-० को अग्रता हाँसिल गरेको छ।

५६ रनको जित अस्ट्रेलिया बिरुद्ध वेस्टइन्डिजको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै दोश्रो जित हो भने समग्रमा सातौँ ठूलो रन अन्तरको जित हो। यस अघि सन् २०१२ मा वेस्टइन्डिजले अस्ट्रेलियालाई ७४ रनले पराजित गरेको थियो।

सेन्ट लुसिया स्थित डेरेन स्यामी स्टेडियममा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १९.२ ओभरमा १४० रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाको ब्याटिंगमा मिचेल मार्शले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। मोईसेस हेनरिकेसले १९, जोश फिलिपेले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मार्श र हेनरिकेस बीच पाँचौ विकेटको लागि ४३ रनको साझेदारी इनिंग्समा सर्वाधिक रह्यो। लगातार दोश्रो अर्धशतक बनाएका मार्शलाई हेडन वाल्सले १४ औं ओभरमा क्याच आउट गराएपछि अस्ट्रेलियाको विकेट पतन सुरु भएको थियो।

१०१/३ को अवस्थाबाट अस्ट्रेलियाले थप ३९ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

वेस्टइन्डिजको बलिंगमा लीग स्पिनर हेडन वाल्शले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। उनले अघिल्लो खेलमा पनि ३ विकेट लिएका थिए।  शेल्डन कटरेलले २ विकेट लिंदा फिडेल एडवार्ड, आन्द्रे रसेल, ड्वेन ब्राभो र क्रिस गेलले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १९६ रन बनाएको थियो।

हेटमायरले ६१ रन बनाए

वेस्टइन्डिजको ब्याटिंगमा देब्रे हाते ब्याट्सम्यान शिमरन हेटमायरले टि-२० अन्तर्राष्ट्रिय करियरको दोश्रो अर्धशतक बनाउने क्रममा ६१ रन बनाए जुन क्रममा ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै ड्वेन ब्राभोले ३४ बलमा १ चौका र ३ छक्का मद्दतले अविजित ४७ रन, लेन्डल सिमोन्सले २१ बलमा १ चौका र ३ छक्का मद्दतले ३१ रन तथा आन्द्रे रसेलले ८ बलमा २ चौका र २ छक्का मद्दतले अविजित २४ रन बनाए।

चौथो नम्बरमा ब्याटिंग गरेका हेटमायरले ब्राभोसंग चौथो विकेटको लागि ९७ रनको साझेदारी गरेका थिए भने ब्राभोले रसेलसंग पाँचौ विकेटको लागि ३४ रन जोडे। ब्राभो र रसेलले आक्रामक सटहरु खेल्दा इनिंग्सको अन्तिम ४ ओभरमा वेस्टइन्डिजले ६१ रन बनायो।

अस्ट्रेलियाको बलिंगमा जोश हेजलवुड, एस्टन एगर र मिचेल मार्शले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज १८ रनले विजयी भएको थियो। सिरिज अन्तर्गत तेश्रो खेल जुलाई १२ तारिखमा तथा चौथो र पाँचौ खेअ जुलाई १४ र १६ तारिखमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy