स्टोइनिसको कीर्तिमानी छिटो अर्धशतक, अस्ट्रेलियाद्वारा श्रीलंका पराजित

मार्कस स्टोइनिसले विस्फोटक ब्याटिंग गर्दै अर्धशतक प्रहार गर्दा घरेलु भूमिमा जारि टि-२० विश्वकपमा पहिलो जित दर्ता गर्ने क्रममा अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ। पहिलो खेलमा अस्ट्रेलियालाई न्युजिल्यान्डले ८९ रनले पराजित गरेको थियो।

सिड्नी क्रिकेट मैदानमा श्रीलंकाले दिएको १५८ रनको लक्ष्य अस्ट्रेलियाले २१ बल बाँकी हुँदै ३ विकेट गुमाएर भेटायो।

अस्ट्रेलियाको जितमा पाँचौ नम्बरमा ब्याटिंग गरेका मार्कस स्टोइनिसले उत्कृस्ट योगदान दिए। ग्लेन म्याक्सवेल आउट भएपछि तेह्रौं ओभरमा ब्याटिंग गर्न आएका उनले विस्फोटक ब्याटिंग गर्दै मात्र १७ बलमा अर्धशतक प्रहार गरे। १७ बलको अर्धशतक अस्ट्रेलियाको लागि टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा  छिटो अर्धशतक हो। स्टोइनिसले त्यस क्रममा वानिन्दु हसरंगाले गरेको पन्ध्रौँ ओभरमा २ छक्का र १ चौका, महेश थिक्षानाले गरेको सोह्रौं ओभरमा ३ छक्का प्रहार गरे।

स्टोइनिस र आरोन फिंचले चौंथो विकेटको लागि २५ बलमा ६९ रनको साझेदारी गरे। स्टोइनिसले १८ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ५९ रन बनाए। फिंचले ४२ बलमा १ छक्का मद्दतले ३१ रन बनाए। ग्लेन म्याक्सवेलले १२ बलमा २३ रन बनाए।

टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट क्षेतीमा १५७ रन बनायो। उसको लागि ओपनर पथुम निसंकाले सर्वाधिक ४० रन बनाए जुन क्रममा ४५ बलमा २ चौका प्रहार गरे। चरिथ असलंकाले अविजित ३८, धनन्जय डी सिल्भाले २६ तथा चमिका करुनारत्नेले अविजित १४ रन बनाए। निसंका र डी सिल्भाले दोश्रो विकेटको लागि ६९ रनको साझेदारी गरे। सातौं विकेटको लागि करुनारत्ने र असलंकाले अविजित ३७ रन जोडे।

अस्ट्रेलियाको बलिंगमा जोश हेजलवुड, प्याट कमिंस, मिचेल स्टार्क, एस्टन एगर र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy