प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेशले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई १८० रनको विशाल अन्तरले पराजित गरेको छ। अघिल्लो खेलमा बागमतीले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई ७ विकेटले स्तब्ध पारेको थियो। जितपछि बागमती समुह ‘बि’ अंकतालिकामा ४ अंक सहित शिर्षस्थानमा रहेको छ।
स्कोरकार्ड ,अंकतालिका , खेलतालिका
टियु मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ३०० रनको लक्ष्य पछ्याउने क्रममा सुदुरपश्चिमले २१ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ११९ रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमको लागि नारायण जोशीले सर्वाधिक अविजित ४४ रन बनाए जुन क्रममा २९ बलमा १ चौका र ५ छक्का प्रहार गरे। अर्जुन साउदले ३१ तथा किरण ठगुन्नाले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको सुदूरपश्चिमले पहिलो ५ विकेट मात्र ४ रनको योगफलमा गुमाएको थियो। रामनरेश गिरिले सुरुवात ४ विकेट लिंदै सुदूरपश्चिमलाई सुरुवात देखि दबाबमा राखेका थिए।

छैठौं विकेटको लागि अर्जुन साउद र किरण ठगुन्नाले अर्धशतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई लज्जास्पद योगफलमा समेटिनबाट जोगाए। ५९ रनको साझेदारी गरेपछि अर्जुनलाई नन्दन यादबले आफैद्वारा क्याच आउट गराए। त्यसपछि तल्लो क्रममा नारायण जोशीले आक्रामक ब्याटिंग गरेता पनि सुदूरपश्चिमले लगातार विकेट गुमायो।
बागमतीको बलिंगमा फास्ट बलर रामनरेश गिरिले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ५ ओभरमा ३२ रन खर्चिए। नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, तिलक भण्डारी र बिपिन आचार्यले समान १ विकेट लिए।
बागमतीको ब्याटिंग : पृथु र आदीलको उत्कृस्ट इनिंग्स
खेलमा टस हारेर ब्याटिंग गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९९ रन बनाएको थियो।
बागमतीको लागि पृथु बास्कोटाले सर्वाधिक ८४ रन बनाए जुन क्रममा ९४ बलमा १० चौका र २ छक्का प्रहार गारे। यस्तै ओपनर आदील खानले ८६ बलमा १० चौका मद्दतले ६३ रन बनाए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन, पारस खड्काले २०, इशान पाण्डेले १७ तथा आकाश थापाले १३ रन योगदान दिए।

ओपनर आकाश थापा दोश्रो ओभरमा आउट भएपछि आदील खान र पारस खड्काले दोश्रो विकेटको लागि ४६ रनको साझेदारी गरे। १० औं ओभरमा पारसलाई बिनोद लामाले बोल्ड गरे। तेश्रो विकेटको लागि आदील र पृथु बीच १०९ रनको साझेदारी भयो। ३१ औं ओभरमा अदिललाई भोजराज भट्टले क्याच आउट गराए। शतकतर्फ अघि बढेका पृथुलाई ३८ औं ओभरमा सन्तोष भट्टले विकेटकिपर संजु दमाईबाट क्याच आउट गराए। लगत्तै ओभरमा इशान पाण्डेलाई नारायण जोशीले क्याच आउट गराए।छैठौं विकेटको लागि कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले ६१ रनको साझेदारी गरे। मल्ल र बिपिन दुवैलाई नारायण जोशीले आउट गरे।
सुदूरपश्चिमको बलिंगमा नारायण जोशीले सर्वाधिक ३ विकेट लिए। यस्तै भोज राज भट्ट र सन्तोष भट्टले समान २ विकेट र बिनोद लामाले १ विकेट लिए। १० ओभरमा २ मेडन गर्दै ३४ रन खर्चिएका शेर मल्ल विकेटविहिन रहे।
स्कोरकार्ड ,अंकतालिका , खेलतालिका