बैतडीले जित्यो सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेटको उपाधि

२०८१ पुष २५, बिहीबार १९:२६

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाेट क्रिकेट प्रतियोगिताकाे उपाधि बैतडीले जितेकाे छ।

बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा बिहिवार भएकाे फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडी च्याम्पियन बनेकाे हाे।

जितका लागि पाएकाे ७२ रनकाे लक्ष्य बैतडीले १२.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्याे।

बैतडीकाे जितमा कप्तान रितु कनाैजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहिन्। यता, बलिङतर्फ कञ्चनपुरकी मन्जु विष्टले दुई विकेट हात पारिन्।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेकाे कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायाे। उसका रेवती धामीले ४१ रनकाे पारी खेलेपनि अन्य ब्याटरले दाेहाेराे अंकमा समेत रन जाेड्न सकेनन्।

बैतडीका लागि जानकी थापाले दुई विकेट हात पारिन्। जानकी खेल प्लेयर अफ द फाइनल समेत चुनिईन्।

बैतडीकी कप्तान रितु कनाैजिया सर्वाेत्कृष्ट खेलाडी बनिन्। यस्तै, कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदयीमान खेलाडी बनिन्।

विजेता, उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलाडी तयारी निर्देशक एवं ओलम्पियन दीपक विष्ट, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहरालगायतले पुरस्कार वितरण गरे।

समापन समाराेहमा बाेल्दै क्यानका अध्यक्ष चन्दले क्रिकेटलाई सबैकाे साझा खेल बनाउने बताए। क्रिकेटलाई व्यावसायिक बनाउने र महिला प्रिमियर लिग पनि आयाेजना गरिने उनले बताए।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजना पुस १९ गतेदेखि सुरू भएकाे प्रतियोगितामा प्रदेशका ७ टाेलीकाे सहभागीता रहेकाे थियाे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाेट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy