बलरहरुको योगदानमा इंग्ल्यान्डको सिरिज जित

दोश्रो खेलमा श्रीलंकालाई ५ विकेटले ( डी/एल मेथड ) पराजित गर्दै घरेलु टोलि इंग्ल्यान्डले तिन खेलको टि-ट्वान्टी सिरिज एक खेल अगावै २-० ले जितेको छ।

कार्डिफ स्थित सोफिया गार्डेन्समा सम्पन्न खेलमा श्रीलंकाले दिएको ११२ रनको लक्ष्य इंग्ल्यान्डले ५ विकेट क्षेतीमा १६.१ ओभरमा भेटायो। वर्षाको कारण दोश्रो इनिंग्स १८ ओभरमा झारिएको थियो।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको सुरुवात अत्यन्त खराब रह्यो। ३६ रन जोड्दा उसका ४ जना ब्याट्सम्यान पेभेलियन फर्किए। पाँचौ विकेटको लागि स्याम बिलिंग्सले लियाम लिभिंगस्टोनसंग ५४ रनको साझेदारी गरे। बिलिंग्स २४ रन बनाएर आउट भएपछि लिभिंगस्टो र स्याम करनले टिमलाई जितसम्म डोर्याए। प्लेयर अफ द म्याच लिभिंगस्टोनले अविजित २९ रन तथा करनले अविजित १६ रन बनाए।

श्रीलंकाको बलिंगमा वानिन्दु हसरंगाले २ विकेट तथा दुश्मन्था चमिरा, बिनुरा फर्नान्डो र इसुरु उडानाले समान १ विकेट लिए।


यस अघि टस जितेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र १११ रन बनाउन सकेको थियो। उसको लागि कुसल मेन्डिसले सर्वाधिक ३९ रन, कप्तान कुशल परेराले २१ रन तथा इसुरु उडानाले अविजित १९ रन योगदान दिए।

श्रीलंका ब्याट्सम्यानहरुलाई इंगलिस बलरहरुले कुनै पनि बेला खुलेर ब्याटिंग गर्न दिएनन्। पावरप्लेको पहिलो ६ ओभरमा श्रीलंकाले मात्र २६ रन बनाउन सकेको थियो भने अन्तिम ५ ओभरमा ३० रन बनाउन सक्यो।

परेरा र मेन्डिस बीच तेश्रो विकेटको लागि ५० रनको साझेदारी श्रीलंकाको लागि उत्कृस्ट साझेदारी रह्यो। दुवैको विकेट गुमेपछि भने इंग्ल्यान्ड पूर्णतः खेलमा हावी भएको थियो। ९०/७ को अवस्थामा उडानाले अकिला धनन्जयसंग २१ रनको साझेदारी गर्दा योगफल सय रन पार गराए।

इंग्ल्यान्डको बलिंगमा मार्क वुड ( ४-०-१८-२ ) र आदील रशिद ( ४-०-२४-२ ) ले समान २ विकेट तथा स्याम करन ( २-०-८-१ ) र क्रिस जोर्डन ( ४-०-३१-१ ) ले समान १ विकेट लिए। विकेटविहिन डेभिड विलेले ४ ओभरमा मात्र १७ रन खर्चिए।

सिरिज अन्तर्गत पहिलो खेल इंग्ल्यान्डले ८ विकेटले जितेको थियो। सिरिजको अन्तिम खेल शनिवार ( जुन २६ ) मा साउथह्याम्पटनमा खेलिनेछ। त्यसपछि दुई देशले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy