बंगलादेशलाई हराएर इतिहास रच्ने लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा सोमबार बिहान बंगलादेशको सामना गर्दैछ ।

समूह बी मा रहेका दुई टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको अर्नोस भेल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सोमबार बिहान सवा पाँचबाट सुरु हुनेछ ।

दक्षिण अफ्रिकासँग एक रनको झिनो अन्तरले पराजित भएर अघिल्लो चरण (सुपर एट) पुग्ने सम्भावना गुमाएको नेपाल यस संस्करणको विश्वकपको आफ्नो अन्तिम खेल जितका साथ समाप्त पार्ने योजनामा रहेको छ । बंगलादेशलाई हराउँदै पहिलो पटक टेस्ट मान्यता पाएको राष्ट्रमाथिको ऐतिहासिक जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ ।

उता, बंगलादेश नेपालमाथि स्पष्ट जितको नतिजाका साथ सुपर एटमा आफ्नो स्थान पक्का गर्न चाहन्छ । नेपालसँग पराजित भएको खन्डमा बंगलादेशको अघिल्लो चरणको यात्रा श्रीलंका र नेदरल्यान्ड्सको खेलमा निर्भर हुनेछ । यदी श्रीलंका विजयी भएमा बंगलादेश पराजित भए पनि सुपर एटमा पुग्नेछ । भने, नेदरल्यान्ड्स विजयी भएर बंगलादेश पराजित भएमा नेट रनरेटका आधारमा सुपर एट पुग्ने टोलीको निर्णय हुनेछ ।

नेपाल र बंगलादेश रहेको समूह डी बाट दक्षिण अफ्रिकाले सुपर एटमा स्थान बनाई सकेको छ ।

यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy