हसन चम्कदा एक खेल अगावै बंगलादेशलाई सिरिज

२०७७ माघ ९, शुक्रबार २१:१५

बंगलादेश र वेस्ट इन्डिजबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोलि बंगलादेशले ७ विकेटको सहज जित दर्ता गर्दै एक खेल अगावै सिरिज आफ्नो नाम गरेको छ। यसअघि बुधबार सम्पन्न पहिलो खेलमा बंगलादेशले ६ विकेटको जित निकाल्दै सिरिजमा अग्रता लिएको थियो।

ढाका स्थित शेरे-बाङ्ला राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा १४९ रनको झिनो लक्ष्य पछ्याएको बंगलादेशले ३३.२ ओभरमा ३ विकेट गुमाएर सहजै लक्ष्य पुरा गर्यो। उसको लागि कप्तान तमिम इकवालले ७६ बलमा ३ चौका र १ छक्काको मद्धतमा सर्वाधिक ५० रन बनाए। शाकिब अल हसनले अविजित ४३, लिटन दाशले २२ तथा नझमुल होसेन शांतोले १७ रनको योगदान दिए।


इकवाल र दाशले पहिलो विकेटको लागि ३० रनको साझेदारी गरे। दाश आउट भएपछि इकवालले नझमुलसँग दोस्रो विकेटको लागि ४७ रनको साझेदारी गर्दै बंगलादेशलाई जिततर्फ उन्मुख पारे। त्यसपछि अन्तिममा शाकिबले मुश्फिकर रहिमसँग ४० रनको अविजित साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए।

वेस्ट इन्डिजको बलिंगतर्फ रेमन रिफर, कप्तान जेसन मोहम्मद र अकिल होसेनले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग रोजेको इन्डिजले ४३.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १४८ रन बनाएको थियो। इन्डिजको ब्याटिंगमा रोभ्मान पावेलले सर्वाधिक ४१ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।


ओपनर सुनिल एम्ब्रिस ६ रनमा आउट भएपछि अर्का ओपनर जोर्न ओट्लेले जोशुआ डा सिल्वासँग दोस्रो विकेटको लागि २६ रनको साझेदारी गरे। मेहेदी हसनले ओट्लेलाई पेभेलियन फर्काएपछि इन्डिजको ब्याटिंग धराशायी बन्यो। ५ रनको अन्तरालमा ४ विकेट गुमाउँन पुग्दा इन्डिज नाजुक अवस्थामा पुग्यो। अन्तिममा पावेलले अज्लारी जोसेफसँग नवौं विकेटको लागि ३२ तथा दशौँ विकेटको लागि अकिल होसेनसँग २८ रनको साझेदारी गर्दै इन्डिजको शाख जोगाए।

इन्डिजलाई सस्तोमा समेट्न बंगलादेशको बलिंगतर्फ मेहेदी हसनले (९.४-०-२५-४) सर्वाधिक ४ विकेट लिए। शाकिब अल हसन र मुस्ताफिजुर रहमानले समान २ तथा हसन महमुदले १ विकेट हात पारे।

अन्तिम तथा तेस्रो एकदिवसीय खेल सोमबार खेलिनेछ जसपछि दुई टोलिबीच २ खेलको टेस्ट सिरिज खेलिने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy