लगातार तेश्रो जित्दै अस्ट्रेलिया बिरुद्ध बंगलादेशको ऐतिहासिक सिरिज जित

२०७८ श्रावण २२, शुक्रबार २२:३९

अस्ट्रेलियालाई लगातार तेश्रो खेलमा पराजित गर्दै बंगलादेशले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज दुई खेल बाँकि रहँदै ३-० ले जित्न सफल भएको छ। अस्ट्रेलियालाई कुनै पनि फर्म्याटको सिरिजमा बंगलादेशले पराजित यो इतिहासमै पहिलो पटक हो। सिरिज अन्तर्गत पहिलो दुई खेलमा बंगलादेश क्रमशः २३ रन र ५ विकेटले विजयी भएको थियो।

शेरे बांग्ला स्टेडियम, ढाकामा सम्पन्न खेलमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ४ विकेट क्षेतीमा ११७ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर तथा कप्तान म्याथु वेड १ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि बेन म्याकडरमटले मिचेल मार्शसंग ६३ रनको साझेदारी गरे। ३५ रन बनाएका म्याकडरमटलाई १४ औं ओभरमा शाकिब अल हसनले बोल्ड गरे। लगत्तै ओभरमा मोईसेस हेनरिक्स २ रन बनाएर आउट भए। त्यसपछि मार्शले एलेक्स केरीसंग २० रनको साझेदारी गरे। १८ औं ओभरको पहिलो बलमा मार्शलाई शोरीफुल इस्लामले क्याच आउट गराउदै बंगलादेशलाई खेलमा फर्काए। मार्शले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

जितको लागि अन्तिम २ ओभरमा २३ रन आवस्यक हुँदा मुस्तफिजुर रहमानले १९ औं ओभरमा १ रन मात्र खर्चिए। अन्तिम ओभरमा जित्न २२ रन आवस्यक हुँदा अन्तिम ओभर बलिंग गर्न आएका मेहदि हसनको पहिलो बलमै एलेक्स केरीले छक्का प्रहार गरे। दोश्रो बलमा केरीले १ रन लिए भने तेश्रो बलमा ड्यान क्रिस्चियनले रन बनाउन सकेनन्। चौथो बल हसनले फुल टस फाल्दा अम्पायरले नो बल दिए जसमा क्रिस्चियनले १ रन लिए। लगत्तै बलमा हसन १ रन दिए जसपछि जित्न अस्ट्रेलियालाई २ बलमा १२ रन आवस्यक रह्यो। पाँचौ बलमा हसनले रन दिएनन् भने छैठौं बलमा क्रिस्चियनले १ रन मात्र लिन सक्दा बंगलादेशले १० रनको जित हाँसिल गर्यो। केरीले अविजित २० रन बनाएता पनि जितको लागि पर्याप्त रहेन।

बंगलादेशको बलिंगमा शोरिफुल इश्लामले २ विकेट ( ४-०-२९-२ ) लिए भने नसुम एहमद ( ४-१-१९-१ ) र शाकिब अल हसन ( ४-०-२२-१ ) ले समान १ विकेट लिए। मुस्तफिजुर रहमानले ४ ओभर बलिंग गर्दा मात्र ९ रन खर्चिए।


डेब्युमा इलिसको ह्याट्रिक 

खेलमा टस जितेर ब्याटिंग रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२७ रन बनाएको थियो।

ओपनर मोहम्मद नैम र सौम्य सरकार २ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि शाकिब अल हसन र कप्तान महमुदुल्लाहले तेश्रो विकेटको लागि ४४ रनको साझेदारी गरे। नवौं ओभरमा शाकिबलाई एडम जाम्पाले क्याच आउट गर्दै अस्ट्रेलियालाई खेलमा फर्काए। महमुदुल्लाहले चौथो विकेटको लागि अफिफ होसेनसंग २९ रनको साझेदारी गरे। १९ रन बनाएका होसेन रन आउट भएपछि भने बंगलादेशले लगातार विकेट गुमाउन पुग्यो। शमिम होसेन ३ तथा नुरुल हसन ११ रन बनाएर आउट भए।

महमुदुल्लाहले सातौँ विकेटको लागि मेहदी हसनसंग ३० रनको साझेदारी गरे। ५३ बलमा ४ चौका मद्दतले ५२ रन बनाएका महमुदुल्लाह अन्तिम ओभरको चौथो बलमा नाथन इलिसबाट बोल्ड भए। लगत्तै दुई वटा बलमा इलिसले मुस्तफिजुर र मेहदी हसनलाई क्याच आउट गराउदै ह्याट्रिक पुरा गरे। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने इलिस १६ औं खेलाडी हुन् भने डेब्युमा ह्याट्रिक लिने पहिलो खेलाडी हुन्। अस्ट्रेलियाको लागि यस अघि सन् २००७ मा ब्रेट लि र २०२० मा एस्टन एगरले ह्याट्रिक लिएका थिए।

अस्ट्रेलियाको बलिंगमा दायाँ हाते पेसर नाथन इलिसले सर्वाधिक ३ विकेट ( ४-०-३४-३ ) लिए भने जोश हेजलवुड ( ४-०-१६-२ ) र एडम जाम्पा ( ४-०-२४-२ ) ले समान २ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy