बारा क्रिकेटलाई नेसनल इन्फोटेक कलेजको प्रायोजन

२०८२ भाद्र ६, शुक्रबार १८:०२

बिरगंज, भदौ ६

बारा जिल्ला क्रिकेट टिमलाई बिरगंजको नेसनल इन्फोटेक कलेजले मुख्य प्रायोजन गर्ने भएको छ।

शुक्रबार बिरगंजमा आयोजित एक कार्यक्रमका बीच बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात कुमार चौरसिया र नेसनल इन्फोटेक कलेजका निर्देशक तथा पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका मनिष सिंहले सम्झौतामा हस्ताक्षर गर्नु भयो। सोही समारोहमा बारा जिल्ला क्रिकेट सङ्घको नेशनल इन्फोटेकको लोगो अङ्कित नयाँ जर्सी पनि सार्वजनिक गरिएको छ ।

वार्षिक मुख्य प्रायोजन सम्झौता बापत नेसनल इन्फोटेक कलेजले बारा क्रिकेट टिमलाई आर्थिकको साथै जर्सीका, अन्य खेल पोशाक तथा क्रिकेट सामग्रीहरु पनि उपलब्ध गराउनेछ। सम्झौता रकम भने खुलाइएको छैन। बारा क्रिकेट टिमले सम्झौता अवधिभर आफ्नो जर्सीमा नेसनल इन्फोटेकको लोगो अंकित जर्सी लगाउनेछ।

कार्यक्रममा बारा जिल्लाका राष्ट्रिय क्रिकेटरद्वय अनिल शाह, पवन सर्राफ तथा यु-१९ राष्ट्रिय क्रिकेटरद्वय साहिल पटेल र निरज यादव तथा प्रदेशका क्रिकेटर अरनिको यादवले नेसनल इन्फोटेक अंकित जर्सी लगाएर जर्सी सार्वजनिक गरेका थिए। अनिल बारा जिल्ला क्रिकेट टिमका कप्तान समेत हुन्।

सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई पूर्व कप्तान पवन अग्रवाल र बिनोद दासको पनि उपस्थिति रहेको थियो। दुवै पूर्व कप्तान बारा जिल्लाकै स्थानीय समेत हुन्। यस्तै मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुबाश जयसवालको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा फ्नो भनाइ राख्दै बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात कुमार चौरसियाले नेसनल इन्फोटेक कलेजलाई धन्यवाद ज्ञापन गरे। उनले कलेजका निर्देशक मनिष सिंहको तारिफ गर्दै स्वर्गीय टिबी शाह पछि पछिल्लो समय सिंहले क्रिकेटको विकास गरेको सक्रियताको तारिफ समेत गरे। उनले भने – “जिल्ला क्रिकेट संघ संचालन गर्नु चुनौतिपूर्ण कुरा हो। यस्तो समयमा इन्फोटेक कलेजले गरेको सहयोगले बारा जिल्ला संघ र स्थानीय खेलाडीलाई ठूलो हौसला मिलेको छ। हामीले प्रायोजनलाई अधिकतम उपयोग गरी बारा जिल्लालाई क्रिकेटको क्षेत्रमा अझ अगाडि लैजाने छौँ”

यस्तै इन्फोटेक कलेजका निर्देशक तथा पर्सा जिल्ला क्रिकेट संघको समेत अध्यक्ष रहेका मनिस सिंहले मधेश प्रदेशमा बारा जिल्लाले राष्ट्रिय स्तरको क्रिकेटर उत्पादनमा ठूलो भूमिका निभाएको बताए- “नेसनल इन्फोटेक कलेज बिज्ञान र प्रविधिमा केन्द्रित रहँदै आएको शैक्षिक संस्था हो जसले नियमित रुपमा क्रिकेट लगायत अन्य खेलको प्रवर्धनमा समेत विशेष सहयोग राख्दै आएको छ। म पर्सा जिल्ला क्रिकेट संघको अध्यक्षको रुपमा जिल्ला क्रिकेट संघ चलाउन चुनौतीपूर्ण रहेको परिस्थितिलाई मध्यनजर गर्दै प्रायोजन गरेका हौँ। बारा जिल्ला क्रिकेट सङ्घसँगको सहकार्य हाम्रा लागि गर्वको विषय हो । हामी स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चम्काउन चाहन्छौँ र यो सम्झौता त्यस दिशामा एक महत्त्वपूर्ण कदम हो।”

राष्ट्रिय टिमका पूर्व कप्तान पवन अग्रवालले यो सम्झौताले राष्ट्रिय क्रिकेटरहरुको उत्पादन केन्द्र रहेको बारा क्रिकेटमा क्रिकेटको माहोल कायमै राख्न मद्दत पुग्ने बताए। अर्का पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर समेत रहेको बिनोद दासले पनि यो सम्झौताले बारा जिल्ला क्रिकेटलाई प्रोत्साहन प्रदान गर्ने विश्वास व्यक्त गरे। यस्तै राष्ट्रिय क्रिकेटरद्वय अनिल शाह र पवन सर्राफले पनि यो सहयोगले स्थानीय खेलाडीहरुलाई हौसला प्रदान गरेको बताए।

बारा क्रिकेट टिम मधेश क्रिकेट लिग र प्रधानमन्त्री कप मधेश प्रदेश छनोटको समेत विजेता टिम हो। पछिल्लो समय अनिल शाह, पवन सर्राफ, मोहम्मद आदील आलम, अलिशा यादव, शाहील पटेल, निरज यादव जस्ता खेलाडी राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका छन्।

नेशनल इन्फोटेक कलेजले लामो समयदेखि क्रिकेटको प्रवर्धन र विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । कलेजले यसअघि पनि कैयौँ क्रिकेट खेलाडीहरूलाई प्रायोजन गरेको छ र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy