बिग ब्यास : ब्रिसबेन र मेलबर्नको जित

मार्कस स्टोइनिसले आक्रामक ब्याटिंग गर्दा बिग ब्यास लिग अन्तर्गत २७ औं खेलमा मेलबर्न स्टार्सले नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम होबार्ट हरिकेन्सलाई १० रनले पराजित गरेको छ।

बेलेरिभ ओभल, होबार्टमा सम्पन्न खेलमा मेलबर्नले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा होबार्टले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।

ओपनर बेन म्याकडरमोटले ५८ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ९१ रन बनाएता पनि होबार्ट लक्ष्य पछ्याउन चुक्न पुग्यो। दविड मलानले २६, कप्तान पिटर ह्यान्ड्सकम्बले २१ तथा कोलिन इन्ग्रामले १७ रन योगदान दिए। स्टार्सको बलिंगमा स्याम रेनबर्डले २ तथा बिल्ली स्टानलेक, एडम जम्पा र लियम ह्याचरले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। उसको लागि ओपनर मार्कस स्टोइनिसले आक्रामक ब्याटिंग गर्दै मात्र ५५ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै अविजित ९७ रन बनाए। हिल्टन कार्टराइटले ३६ तथा निकोलस पुरनले २६ रन बनाए।

होबार्टको बलिंगमा नाथन इलिसले ३ विकेट, राइले मेरेडीथले २ तथा सन्दिप लामिछानेले १ विकेट लिए।

सन्दिप लामिछानेले १ विकेट लिए

जितपछि मेलबर्न ७ खेलमा ३ जित र ३ हार बेहोर्दै अंकतालिकामा १५ अंकसहित चौथो स्थानमा रहेको छ। होबार्ट १८ अंक सहित तेश्रो स्थानमा छ। सिड्नी सिक्सर्स २१ अंक सहित पहिलो र सिड्नी थन्डर्स १९ अंक सहित दोश्रो स्थानमा छ।

प्रतियोगिता अन्तर्गत होबार्टले आगामी खेल जनवरी ७ तारिख ( बिहिबार ) सिड्नी थन्डर्स बिरुद्ध खेल्नेछ।

ब्रिसबेनद्वारा सिड्नी थन्डर्स पराजित 

लिग अन्तर्गत आजै सम्पन्न २८ औं खेलमा ब्रिसबेनले सिड्नी थन्डर्सलाई ५ विकेटले पराजित गर्यो। सिड्नीले दिएको १७५ रनको लक्ष्य ब्रिसबेनले १९.१ ओभरमा ५ विकेट गुमेर भेटायो।

ब्रिसबेनको जितमा जोए डेनलि र जोए बर्न्सले अर्धशतकीय पारि खेल्ने क्रममा क्रमशः ५० र ५२ रन बनाए। क्रिस लिनले ३०, जिम्मी पियरसन र म्याक्स ब्रायन्टले समान १५ रन बनाए। सिड्नी बलर तन्भिर सांघाले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन।

यस अघि टस जितेर ब्याटिंग रोजेको सिड्नीले २० ओभरमा ८ विकेट नोक्सानीमा १७४ रन बनाएको थियो। उसको लागि एलेक्स हेल्सले सर्वाधिक ४६ रन बनाए भने ड्यानीयल स्याम्सले ३७ तथा क्यालम फर्गुसनले ३५ रन बनाए। ब्रिसबेनको बलिंगमा मुजिब उर् रहमान र मार्क स्तेकेटेले समान २ विकेट लिए।

जित पछि ब्रिसबेन १२ अंक सहित अंकतालिकामा छैठौं स्थानमा रहेको छ भने सिड्नी थन्डर्स १९ अंक सहित दोश्रो स्थानमा यथावत रहेको छ।

अंकतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy