अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत ४७ औं खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्सलाई पर्थ स्करचर्सले २२ रनले पराजित गरेको छ।
डकल्यान्ड्स स्टेडियम, मेलबर्नमा सम्पन्न खेलमा पर्थले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा होबर्टले २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।
होबार्टको लागि ओपनर ड्यार्सी सर्टले सर्वाधिक ४३ रन, पिटर ह्यान्ड्सकम्बले ३० रन, टिम डेभिडले २७ रन तथा विल ज्याक्सले २१ रन योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन।
अत्यन्त खबर सुरुवात गरेको होबार्टले पहिलो ३ विकेट ३३ रनको स्कोरमै गुमाएको थियो। त्यसपछि चौथो विकेटको रुपमा सर्टले ह्यान्ड्सकम्बसंग ४४ रनको तथा ज्याक्ससंग ३३ रनको साझेदारी गर्दै टिमलाई उकास्ने प्रयास गरेका थिए। तर १३ औं ओभरमा सर्टलाई बेरेनडर्फले क्याच आउट गरएपछि होबार्ट खेलमा फर्कन सकेन।
पर्थको बलिंगमा झाई रिचर्डसनले सर्वाधिक ४ विकेट लिए भने जेसन बेरेनडर्फले २ तथा एन्ड्रु टाई र लियाम लिभिंगस्टोनले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पर्थले २० ओभरमा ८ विकेट गुमाएर १७९ रन बनाएको थियो।
पर्थको लागि जोश इंगलिसले सर्वाधिक ५८ रन बनाए भने झाई रिचर्डसनले २९ रन, लियाम लिभिंगस्टोनले २६ रन तथा जेसन रोयले २० रन बनाए।
६६ रनमा ४ विकेट गुमाएको अवस्थाबाट चौथो नम्बरमा ब्याटिंग गरेका इंगलिसले एक किनार सम्हाल्दै राम्रो स्थितिमा पुर्याएका थिए। इनिंग्सको अन्तिममा रिचर्डसनले आक्रामक सटहरु खेलेका थिए।
होबार्टको बलिंगमा नाथन इलिसले सर्वाधिक ४ विकेट लिए। नेपाली लेग स्पिनर सन्दिप लामिछानेले २ विकेट लिए भने विल ज्याक्स र ड्यार्सी सर्टले १/१ विकेट लिए।
जितपछि पर्थ लिग अंकतालिकाको दोश्रो स्थानमा रहेको छ जसले १२ खेलमा ७ जित र ४ हार बेहोरेको छ। हार पछि होबार्ट १२ खेलमा समान ६/६ जित हार सहित २३ रन बटुल्दै छैठौं स्थानमा रहेको छ। अंकतालिकामा सिड्नी ८ जित सहित पहिलो स्थानमा रहेको छ।
सन्दिप लामिछानेको प्रदर्शन
अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेले जारि सिजन छैठौं खेल खेल्ने क्रममा पर्थ स्करचर्स बिरुद्ध राम्रो बलिंग गरेका छन्। पछिल्लो २ खेलमा विकेट विहिन रहेका सन्दिपले तेश्रो खेलमा भने उत्कृस्ट पुनरागमन गरेका हुन्।
लिगको ४७ औं खेलमा टस जितेर ब्याटिंग गरेको पर्थलाई दबाबमा राख्ने क्रममा सन्दिपले माथिल्लो क्रमको २ विकेट लिएका हुन्। सन्दिपले १३ ओभरको खेल चल्दै गर्दा आफ्नो स्पेल सक्ने क्रममा ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। यस क्रममा सन्दिपले लियाम लिभिंगस्टोन र मिचेल मार्शको विकेट लिए।
लिग अन्तर्गत नेपाली स्पिनरले यो सिजन ६ खेलमा विकेट संख्या पनि ६ नै पुर्याएका छन्। उनले पहिलो २ खेलमा मेलबर्न स्टार्सको लागि खेल्दा २ र १ विकेट लिएका थिए भने तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध १ विकेट लिएका थिए।
पहिलो ओभर : १० रन खर्चेर १ विकेट ( ६ , १ , १ , विकेट , लेगबाई १ , १ )
छैठौं ओभरमा बलिंग गरेका सन्दिपलाई पहिलो बलमै लियाम लिभिंगस्टोनले छक्का हिर्काए। त्यसपछि ओभरको चौथो बलमा सन्दिपले लिभिंगस्टोनलाई दविड मलानबाट क्याच आउट गराए। अर्को आक्रामक सट खेल्ने क्रममा सन्दिपलाई उनले विकेट दिए। फलस्वरुप १५ बलमा २६ रन बनाएर खतरा बनिरहेका लिभिंगस्टोनको महत्वपूर्ण विकेट सन्दिपले लिए।
दोश्रो ओभर : ५ रन खर्चेर १ विकेट ( १ , १ , १ , ० , विकेट , २ )
आठौँ ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपले पाँचौ बलमा मिचेल मार्शलाई एलबिडब्लु आउट गरे। सन्दिपले गरेको गुगलीलाई मार्शले बुझ्न सकेनन् र ७ रन बनाएर आउट भए। पर्थको चौथो विकेट लिंदै सन्दिपले होबार्टलाई खेलमा हावी गराए।
तेश्रो ओभर : ७ रन ( २ , १ , १ , १ , १ , १ )
११ औं ओभरमा तेश्रो ओभर बलिंग गरेका सन्दिपलाई जोश इंगलिस र एस्टन टर्नरले आक्रामक सट खेलेनन्। पहिलो बलमा इंगलिसले २ रन लिए पछि बाँकी सबै बलमा दुवैले १/१ रन लिए।
चौथो ओभर : ६ रन ( ० , ० , ४ , ० , १ , १ )
१३ औं ओभरमा स्पेलको अन्त्य गर्ने क्रममा सन्दिपले मात्र ६ रन खर्चिए। ओभरको तेश्रो बलमा सन्दिपले दिएको अफस्टम्प बाहिरको सहज बललाई एस्टन टर्नरले एक्स्ट्रा कभरमा चौका प्रहार गरे। अन्य बलमा सन्दिपले कसिलो बलिंग गरे।