बिग ब्यास : पर्थद्वारा ब्रिसबेन फराकिलो अन्तरले पराजित

२०७७ माघ ६, मंगलवार २१:१३

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत मंगलबार सम्पन्न ४४ औं खेलमा एश्टन टर्नर कप्तानीको पर्थ स्कर्चर्सले क्रिस लिन कप्तानीको ब्रिसबेन हिटलाई ५९ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

जितसंगै ११ खेलमा ६ जित र ४ हारपछि २४ अंक बटुलेको पर्थ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ११ खेलमा ५ जित र ६ हारसहित २१ अंक जोडेको ब्रिसेबेन अंकतालिकाको छैटौं स्थानमा यथावत रहेको छ। अंकतालिकाको शिर्ष स्थानमा रहेको सिक्सरको ३२ अंक रहेको छ भने सिड्नी थंडर, मेलबर्न स्टार्स  र होबार्ट हरिकेन्स समान २३ अंकसहित नेट रन रेटको आधारमा क्रमशः तेस्रो, चौथौं र पाचौं स्थानमा रहेका छन्।


मेलबर्न स्थित डोकल्याण्ड क्रिकेट स्टेडियममा समपन्न खेलमा १७५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको ब्रिसबेन १६.४ ओभरमा ११५ रनको योगफलमै समेटियो। ब्रिसबेनको ब्याटिंगमा कप्तान क्रिस लिनले सर्वाधिक २७, जो डेन्लेले २६ तथा लुइस ग्रेगरीले २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

म्याक्स ब्रायन्ट ५ रनमा आउट भएपछि कप्तान लिनले डेन्लेसँग दोस्रो विकेटको लागि ३७ रनको साझेदारी गरे। ब्रिसबेनले १९ रनको अन्तरालमा ७ विकेट गुमाउँन पुग्दा (९६/४ को स्थितिबाट) ११५ रनको झिनो योगफलमै समेटिएको थियो।


ब्रिसबेनलाई सस्तोमा समेट्न पर्थको बलिंगतर्फ फवाद अहमदले (३.४-०-२५-३) सर्वाधिक ३ विकेट लिए। जाए रिचार्डसन, जेसन बेहरेन्डोर्फ र एन्ड्रयु टायले समान २ तथा लियाम लिभिङ्गस्टोनले १ विकेट हात पारे।

यसअघि ब्याट फिलिप हारेर ब्याटिंगको निम्तो पाएको पर्थले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। उसको लागि  पछिल्लो पाँच खेलमा चौथौं अर्धशतक बनाउँने क्रममा कलिन मन्रोले ५४ बलमा ५ चौका र ४ छक्काको मद्धतमा सर्वाधिक ८२ रन बनाए। जोश इंगलिसले २५ तथा कप्तान टर्नरले २४ रनको योगदान दिए।

३७ रनको योगफलमै ओपनरद्वय ज्यासन रोय र लियाम लिभिङ्गस्टोन आउट भएपछि मन्रोले इंगलिससँग तेस्रो विकेटको लागि ४० रनको साझेदारी गरे। त्यसपछि मन्रोले क्याम्रन ब्यान्क्रफ्टसँग चौथौं विकेटको लागि ३६ तथा कप्तान टर्नरसँग पाचौं विकेटको लागि ४७ रनको साझेदारी गर्दै पर्थलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए।

ब्रिसबेनको बलिंगतर्फ ज्याक वाइल्डर्मथ र मोर्ने मोर्केलले समान २ तथा जेम्स बाज्लेले १ विकेट लिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy