बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

२०७७ माघ ११, आईतवार २२:०५

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले पराजित गर्दै प्लेअफको सम्भावना कायम राखेको छ।

जितसंगै १३ खेलमा ७ जित र ६ हारसहित २७ अंक बटुलेको होबार्ट अंकतालिकाको पाचौं स्थानमा उक्लिएको छ भने १३ खेलमा ८ जित र ५ हारपछि ३२ अंक जोडेको सिड्नी अंकतालिकाको दोस्रो स्थानमा यथावत रहेको छ। हारसंगै सिड्नीले समान ३२ अंक रहेको पर्थलाई उछिन्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

तेस्रो स्थानमा रहेको एडिलेड स्ट्राइकर्सको २८ तथा चौथौं स्थानमा रहेको सिडनी थंडरको २७ अंक रहेको छ। ब्रिसबेन हिट २५, मेलबर्न स्टार्स २४ तथा मेलबर्न रेनिगेड्स १३ अंकसहित क्रमशः अंकतालिकाको छैटौं, सातौं र आठौँ स्थानमा रहेका छन्।

प्लेअफ समिकरण 

बिग ब्यास लिगमा अंकतालिकाको शिर्ष ५ मा रहने टोलीहरु प्लेअफमा पुग्ने प्रावधान रहेको छ भने शिर्ष २ मा रहेका टोलीहरुले फाइनल प्रवेशका लागि २ मौका पाउने छन्। बिग ब्यासको नयाँ फर्म्याट अनुसार प्लेअफ समिकरण द एलिमिनेटर, द क्वालिफायर, द नकआउट, द च्यालेन्जर र द फाइनल गरि अनौठौ ढाँचामा खेलाइने छ।

होबार्टलाई प्लेअफमा पुग्न अन्तिम खेलमा मेलबर्न रेनिगेड्सविरुद्ध जित आवश्यक रहेको छ भने सिड्नीले लिगको अन्तिम खेलमा मेलबर्न स्टार्सविरुद्ध १ अंक बटुल्न सके शिर्ष २ मा आफ्नो स्थान पक्का गर्नेछ।

मेलबर्न स्थित मेलबर्न क्रिकेट मैदानमा सम्पन्न खेलमा १८९ रनको विशाल लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १८१ रन बनाउँन सक्यो। जॉर्डन सिल्कले ४९ बलमा ८ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ७८ रन बनाएता पनि सिड्नीलाई जितसम्म डोर्याउन सकेनन्। यस्तै, कप्तान मोइसेस हेनरिक्सले २५ बलमा (१ चौका र ४ छक्का) विस्फोटक ४३ रन बनाउँनु बाबजुद अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।

अन्तिम २ ओभरमा सिड्नीलाई जितका लागि ३९ रनको आवश्यकता रहेको थियो। न्याथन एल्लिसको १९ औं ओभरमा सिल्कले १ चौका हिर्काउदै ११ रन बटुलेपछि सिक्सरलाई जितका लागि अन्तिम ओभरमा २८ रनको खाँचो रह्यो।


राइल मेरेडिथले गरेको अन्तिम ओभरको सुरुवाती २ बलमा सिड्नीले ६ रन जोड्यो। त्यसपछि ४ बलमा २४ रनको आवश्यकता रहँदा मेरेडिथले तेस्रो बल नोबल गरे जसमा सिल्कले छक्का प्रहार गर्दै सिड्नीलाई जिततर्फ उन्मुख पारे। तर चौथौ बलमा मेरेडिथ आउट भएपछि सिड्नी जित हात पार्न असमर्थ रह्यो। डार्शीयसले चौथौ बलमा चौका हिर्काउदै हारको अन्तर कम गराएका थिए।

खराब सुरुवात गरेको सिड्नीले जोश फिलिप्पेलाई १२, जेम्स भिन्सलाई ५ तथा ड्यानियल ह्युजलाई ५ रनको व्यक्तिगत स्कोरमा गुमायो। त्यसपछि ३७/३ को संघर्षरत अवस्थाबाट सिल्कले कप्तान हेनरिक्ससँग ७० रनको साझेदारी गर्दै सिड्नीको इनिंग्स सम्हाले। नेपाली लेग स्पिनर सन्दिप लामिछानेले १२ औं ओभरमा हेनरिक्सलाई आउट पार्दै खतरानक बन्दै गएको साझेदारी तोडे। लगत्तै बलमा उनले ड्यानियल क्रिस्टियनलाई बोल्ड गर्दै होबार्टलाई खेलमा फर्काएका थिए।


२८ रनको अन्तरालमा ४ विकेट गुमाएपछि सिड्नी १३५/७ को नाजुक अवस्थामा पुग्यो। त्यसपछि एक किनारबाट विकेट गुमाएता पनि अर्को किनार सम्हालेका सिल्कले बेन डार्शीयससँग ४१ रनको विस्फोटक साझेदारी गर्दै सिड्नीको जितको आश कायम राखे। इनिंग्सक अन्तिम ओभरको चौथौं बलमा राइल मेरेडिथले सिल्कलाई आउट पार्दै टिमलाई जित दिलाएका थिए।

होबार्टको बलिंगतर्फ न्याथन एल्लिसले (४-०-३६-३) सर्वाधिक ३ विकेट लिए। सन्दिप लामिछाने र स्कोट बोल्याण्डले समान २ तथा राइल मेरेडिथले १ विकेट हात पारे।

वेड र सर्टको कीर्तिमानी साझेदारी 

यसअघि ब्याट फिलिप हारेर ब्याटिंगको निम्तो पाएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो। उसको लागि ओपनरद्वय डार्सी सर्ट र मैथ्यू वेडले पहिलो विकेटको लागि १४५ रनको कीर्तिमानी ओपनिंग साझेदारी गरे। उक्त साझेदारी जारि सिजनको सर्वाधिक तथा लिग इतिहासकै १२ औं सर्वाधिक ओपनिंग साझेदारी हो। पछिल्लो सिजन हिल्टन कार्टराइट र मार्कश स्टोइनिसले पहिलो विकेटको लागि २०७ रनको सर्वाधिक साझेदारी गरेका थिए।

होबार्टको ब्याटिंगमा कप्तान वेडले ४४ बलमा १० चौका र ३ छक्काको मद्धतमा सर्वाधिक सर्वाधिक ८६ रन बनाए। सर्टले ५२ बलमा ७२ रन बनाए जुनक्रममा ७ चौका र ३ छक्का हिर्काए। यस्तै, डेविड मलानले ११ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले दोहिरो अंकमा रन बनाउँन सकेनन्।

सिड्नीको बलिंगतर्फ ज्याक बल, बेन डार्शीयस र सिन एबोटले समान २ विकेट लिए भने ड्यानियल क्रिस्टियनले १ विकेट हात पारे।

यस्तो रह्यो नेपाली लेग स्पिनर सन्दिप लामिछानेको प्रदशन 


जारि सिजन व्यक्तिगत सातौँ खेल खेल्ने क्रममा सन्दिप लामिछानेले हेनरिक्स र क्रिस्टियनको २ महत्वपूर्ण विकेट हात पार्दै ४ ओभरमा मात्र २४ रन खर्चिए। उनले जारि सिजन आफ्नो विकेट संख्या ८ पुर्याएका छन्। उनले पहिलो २ खेलमा मेलबर्न स्टार्ससँग खेल्दा २ र १ विकेट लिएका थिए भने तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध १ विकेट लिएका उनले पछिल्लो खेलमा पर्थविरुद्ध २ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy