सप्तरी प्रिमियर लिग सुरु, मुकुन्दले विस्फोटक ब्याटिंग गर्दा डिफेन्डिङ च्याम्पियन वारियर्स पराजित

सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरी प्रिमियर लिगको दोश्रो संस्करण राजविराजमा सुरु भएको छ।

पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय मैदानमा सम्पन्न उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई बोदे बर्साइन थन्डर्सले ३३ रनले पराजित गरेको छ।

पहिले ब्याटिंग गर्दै बोदे बर्साइनले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो।

Harishankar Shah

वारियर्सको लागि हरिशंकर शाहले सर्वाधिक ४५ रन बनाए जुन क्रममा २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे भने संसाद शेखले अविजित ३९ रन बनाउन ३७ बलमा २ चौका र २ छक्का प्रहार गरे।

वारियर्सलाई लक्ष्यसम्म पुग्न नदिन बोदे बर्साइनका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २ विकेट लिए। यस्तै सर्वन यादव, मुकुन्द यादव, मिनास थापा, ओपन राइ र पप्पु यादवले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बोदे बर्साइन थण्डर्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १७९ रनको योगफल तयार गरेको थियो।

उसको लागि मुकुन्द यादवले विस्फोटक इनिंग खेल्दै मात्र १५ बलमा ५ चौका र ४ छक्का मदतले अविजित ४९ रन बनाएका थिए। यस्तै अमित यादवले अविजित ३४ रन बनाए जुन क्रममा २२ बलमा ३ छक्का र २ चौका प्रहार गरे। पवन दासले ३३ , मिनास थापाले ३२ तथा कप्तान मन्जित श्रेष्ठले १२ रन बनाए।

Mukund Yadav

पहिलो विकेटको लागि मन्जित र पवन दासले ४७ रनको, दोश्रो विकेटको लागि मन्जित र मिनास बीच ६३ रनको तथा तेश्रो विकेटको लागि अमित र मुकुन्दले ६९ रनको साझेदारी गरेका थिए।

बजाज खडक वारियार्सको बलिंगमा नन्दन झा र योगराज शर्माले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच मुकुन्द यादव घोषित भए।

Player of the match Mukund Yadav

प्रतियोगिता अन्तर्गत सोमबार २ वटा खेलहरु संचालन हुनेछन्। पहिलो खेलमा बिहान ८ बजे मेहबुब आलम कप्तानीको रुपनी राइडर्स र रोहन बिक कप्तानीको तिलाठी कोइलाडीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै दोश्रो खेलमा दिउसो १ बजे राजेश पुलामी कप्तानीको बोदे बर्साइनले पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रयागनसंग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका मेयर सम्भुप्रसाद यादवले ब्याटिंग र उप-मेयर साधना झाले बलिंग तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले अम्पायरको भूमिका निर्वाह गर्दै गर्नुभयो। समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कान्तिपुर सम्बाददाता अबधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश-२ का सचिव तथा कान्तिपुर टिभीका संवाददाता रामनारायण विश्वास, वडा नम्बर-५ का अध्यक्ष समिर झा, वडा नम्बर-८ का अध्यक्ष जयनारायण विश्वास, वडा नम्बर-६ का अध्यक्ष प्रेम यादव, वडा नम्बर-१५ का रामप्रसाद यादव, राजविराज नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत श्याम सिंहको उपस्थिति रहेको थियो।

लिगमा कुल ५ टिम सहभागी रहेका छन्। बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ। लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिता असार २ देखि ८ गतेसम्म संचालन हुनेछ।

 

Nishan Kharel

A proud dreamer "Future belongs to those who believe in the beauty of their dreams" MA Eco and CA Final student.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy