EPL : भैरहवाले पहिलो जित दर्ता गर्दा, बिराटनगरको दोश्रो हार

२०७८ आश्विन १३, बुधबार १७:००

बिराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडीएटर्सले एभरेस्ट प्रिमियर लिग टि-२० मा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसंगको खेल नतिजाविहिन रहंदा अंक बाँडेको थियो।

कीर्तिपुर स्थित टियु मैदानमा सम्पन्न खेलमा बिराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले ४ विकेट क्षेतीमा १५.३ ओभरमै पुरा गर्यो।

भैरहवाको ब्याटिंगमा श्रीलंकन ब्याट्सम्यान उपुल थाराँगाले सर्वाधिक ३४ रन बनाए जुन क्रममा अविजित रहेका उनले ३५ बलमा ४ चौका प्रहार गरे। प्रदिप ऐरीले २२ रन तथा तामिम इकबाल र रोहित पौडेलले समान १२ रन बनाए। शरद भेसावकरले अविजित ६ रन बनाए। बिराटनगरको बलिंगमा रामनरेश गिरले २ ( ४-०-३०-२ ) र करन केसी र बसन्त रेग्मीले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बिराटनगर वारियर्सले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो। उसको लागि दिलशान मुनविराले सर्वाधिक ३५ रन बनाए भने सुमित महर्जनले १३, आसिफ शेख र अनिल शाहले समान ११ रन तथा बसन्त रेग्मीले अविजित १० रन बनाए। सिकन्दर रजाले ५ रन, सौरभ खनालले ३ रन बनाए भने चन्द्रपौल हेमराज र करन केसीले खाता खोल्न सकेनन्।

भैरहवाको बलिंगमा श्रीलंकन फास्ट बलर धम्मिका प्रशाद ( ३-१-६-३ ) र आरिफ शेखले ( ३-०-२३-३ ) ले समान ३ विकेट, अविनाश बोहराले २ विकेट ( ३.४-०-२३-२ ) तथा दुर्गेश गुप्तार कृष्ण कार्कीले समान १ विकेट लिए।

लिग अन्तर्गत बिराटनगरले पहिलो खेलमा चितवन टाइगर्ससंग २ विकेटको हार बेहोरेको थियो भने भैरहवाले पहिलो खेलमा पोखरासंग अंक बाँडेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy