भारतको टेस्ट क्रिकेट इतिहासकै लज्जास्पद ब्याटिंग

२०७७ पुष ४, शनिबार ११:४४

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत ४ वटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको दोश्रो इनिंगमा भारत ३६ रनमै समेटिन पुगेको छ। अस्ट्रेलियाले टेस्ट जित्न अब ९० रनको लक्ष्य पाएको छ।

पहिलो इनिंगमा ५३ रनको अग्रता पाएपछि दोश्रो दिन ब्याटिंग सुरु गरेको भारतले दोश्रो दिनको समाप्तिमा ९ रन बनाएर १ विकेट गुमाएको थियो।

तेश्रो दिन ब्याटिंग सुरु गरेको भारतले थप २७ रन योगफलमा जोड्दा ९ विकेट गुमाउन पुग्यो। मोहम्मद शामी रिटायर्ड आउट भए पछि भारत टेस्ट क्रिकेट इतिहासमै कम योगफलमा समेटिन पुग्यो।

भारतले यस अघि टेस्ट क्रिकेट इतिहासमा सन् १९७४ मा बनाएको ४२ रन सबैभन्दा कम योगफल थियो। अस्ट्रेलिया बिरुद्ध १९४७ मा बनाएको ५८ रन सबैभन्दा कम योगफल थियो। यस्तै यो शताब्दीमा कुनै पनि टिमले टेस्ट क्रिकेटमा बनाएको यो सबैभन्दा कम योगफल हो।

भारतको कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मायाँक अग्रवालले ९, हनुमा विहारीले ८, बिराट कोहली, पृथ्वी श, रिद्धिमान साहा र उमेश यादवले समान ४ रन बनाए। जस्प्रित बुम्राहले २, मोहम्मद शामीले १ रन बनाए भने चेतेश्वर पुजारा, अजिंके रहाने, रभीचन्द्रन आश्विनले खाता खोल्न सकेनन्।

टेस्ट क्रिकेट इतिहासमा ११ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेको यो मात्र दोश्रो पटक हो।

तेश्रो दिन आठौँ ओभरमा जस्प्रित बुम्राहलाई प्याट कमिन्सले आफैद्वारा क्याच गर्दै विकेट पतनको सुरुवात गरेका थिए। कमिन्सले त्यसपछि पुजारा र कोहलीको समेत विकेट लिए। यस्तै हेजलवुडले मायाँक अग्रवाल सहित रहाने, हनुमा विहारी, रिद्दिमान साहा र आश्विनको विकेट लिए। हेजलवुडले १३ औं ओभरमा अग्रवाल र रहानेको तथा १९ औं ओभरमा साहा र आश्विनको विकेट लिएका थिए।

हेजलवुडले ५ विकेट लिने क्रममा ५ ओभरमा ३ मेडन ओभर गर्दै मात्र ८ रन खर्चिए। यस्तै कमिन्सले १०.२ ओभरमा ४ मेडन ओभर गर्दै २१ रन खर्चेर ४ विकेट लिए।

टेस्टमा टस जितेर ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा २४४ रन बनाएपछि अस्ट्रेलियाले पहिलो इनिंगमा १९१ रनमा सबै विकेट गुमाएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy