भावना घिमिरे लुम्बिनी लायन्सको सीईओमा नियुक्त

२०८२ श्रावण १, बुधबार १७:५७

नेपाल प्रिमियर लिगको टिम लुम्बिनी लायन्सले भावना घिमिरेलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। घिमिरेले नेपालको क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी छिन्।

नेपाल क्रिकेट संघ ( क्यान , CAN) को पूर्व सीईओ समेत रहेकी घिमिरेलाई क्रिकेट व्यवस्थापनमा उनको बलियो नेतृत्व र स्पष्ट सोचका लागि चिनिन्छ। उनको नियुक्तिले लुम्बिनी लायन्सको योजना, व्यवस्थापन र दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।

घिमिरेको अनुभव राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि छ; उनले आईसीसीको सल्लाहकारको रूपमा पनि काम गरेकी छिन्।

यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ बलियो बनाउने र खेलाडी विकास तथा समग्र टिमको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास लायन्सले गरेको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले घिमिरेलाई लायन्स परिवारमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे। उनले घिमिरेको अनुभव, नेतृत्व र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

लुम्बिनी लायन्सले घिमिरेको नेतृत्वमा आफ्नो यात्रा थप प्रेरणादायी, उद्देश्यपूर्ण र सफल हुने पूर्ण विश्वास व्यक्त गरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy