अमेरिका जाने राष्ट्रिय टिमको विदाई

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न जाने नेपाली टोलीको विदाइ गरेको छ ।

अमेरिका र ओमानसँगको सिरिजका लागि क्यानले यसअघिनै नेपाली टोलीको घोषणा गरिसकेको छ ।यसअघि टोलीमा रहनु भएका विक्रम सोब ‘ब्याक इन्जुरी’ कारण टोलीबाट बाहिरिनु भएको छ । क्यानले विक्रमको स्थानमा सुशान भारीलाई समेटेको छ । खेलाडीलाई शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विदाइ गर्नुभयो । नेपाली टोली शनिबार (आजैं) अमेरिका प्रस्थान गर्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ । नेपालले सिरिज अघि अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्ससँग दुई वटा एकदिवसीय अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy