सन्दिपको स्टार्ससंग बिग ब्यास फाइनलमा रेनेगेड्सको भेट

बिग ब्यास लिग अन्तर्गत शुक्रबार सम्पन्न दोश्रो सेमीफाइनल खेलमा मेलबर्न रेनेगेड्सले सिड्नी सिक्सर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

डकल्यान्ड्स स्टेडियम मेलबर्नमा सम्पन्न खेलमा रेनेगेड्सले टस जितेर बलिङ्ग गरेको थियो। पहिले ब्याटिंग गर्दै सिड्नीले दिएको १८१ रनको लक्ष्य रेनेगेड्सले १ बल मात्र बाँकी छँदा पुरा गरेको हो। जितपछि आइतबार हुने लिगको आठौँ संस्करणको फाइनल खेलमा मेलबर्न रेनेगेड्सले मेलबर्न स्टार्ससंग भेट पक्का गरेको छ।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई ६ विकेटले पराजित गरेको थियो। खेलमा सन्दिप लामिछाने भने विकेट विहिन भएका थिए जुन क्रममा ४ ओभरमा ३१ रन खर्चिएका थिए।

लक्ष्य पछ्याउने क्रममा १६ औं ओभर समाप्तिमा रेनेगेड्स १३५/६ को अवस्थामा थियो र जितको लागि अझै ४६ रन आवस्यक। त्यो अवस्थामा सातौँ नम्बरमा ब्याटिंग गर्न आएका ड्यान क्रिस्चियनले आक्रामक इनिङ्ग खेल्दै टिमको जितमा अहम योगदान दिए। ड्याननै खेलको प्लेयर अफ द म्याच समेत चुनिन पुगे।

उनले १४ बलमा अविजित ३१ रन बनाउन ३ छक्का प्रहार गरे जुन क्रममा १९ औं ओभरमा २ छक्का सहित १७ रन बनाएका थिए। २ ओभरमा जितको लागि २५ रन आवस्यक रहेको बेला त्यो ओभरले जित सहज बनाएको थियो।

यस अघि ओपनर एरोन फ़िञ्चले ४४ रन ( ४१ बलमा ४ चौका ), स्याम हार्परले ३६ रन ( १७ बलमा ३ चौका र ३ छक्का ) तथा क्यामरन व्हाइटले २९ रन ( १७ बलमा ४ चौका र १ छक्का ) बनाएका थिए। सिड्नीको लागि बलिङ्गमा स्टिभ ओकिफ ( ४-०-२२-२ ) र बेन ड्वरस्विसले ( ३.५-०-४७-२ ) ले २/२ विकेट तथा सन एबट, मिकी एड्वार्ड्स र कप्तान मोजेज अनरिक्सले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ३ विकेट गुमाएर १८० रनको ठुलो योगफल तयार गरेको थियो। उसको लागि ओपनर जोश फिलिप्पे र ड्यानीयल ह्युजले समान ५२ रन बनाएका थिए। जोशले ३१ बलमा ७ चौका र १ छक्का तथा ह्युजले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए। जेम्स भिन्स र कप्तान मोजेज अनरिक्सले समान २८/२८ रन् बनाए।

रेनेगेड्स बलर क्यामरन बोयसले २ तथा ह्यारी गुर्नेले १ विकेट लिए।

बिग ब्यास लिगको अन्तिम संस्करणको उपाधि एडलेड स्ट्राईकर्सले होबर्ट हरिकेन्सलाई पराजित गर्दै जितेको थियो। मेलबर्न स्टार्स र मेलबर रेनेगेड्सले बिग ब्यास लिगको उपाधि हालसम्म जित्न सकेका छैनन्।

Nishan Kharel

A proud dreamer "Future belongs to those who believe in the beauty of their dreams" MA Eco and CA Final student.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy