बिग ब्यास : पर्थलाई फाइनल पुर्याउन लिभिङ्गस्टोनको आक्रामक पारि, फाइनलमा सिड्नीसंग भिड्ने

२०७७ माघ २२, बिहीबार २०:२९

वर्षाले प्रभावित खेलमा क्रिस लिन कप्तानीको ब्रिसबेन हिटलाई डिएल मेथडमा ४९ रनले पराजित गर्दै पर्थ स्कर्चर्स बिग ब्यास इतिहासमै छैटौं पटक फाइल प्रवेश गरेको छ। अब बिग ब्यासको उपाधिका लागि शनिबार (फेब्रुअरी ६) पर्थ स्कर्चर्स र सिड्नी सिक्सर भिड्ने छन्। यसअघि सिक्सरले क्वालिफायरमा पर्थलाईनै ९ विकेटले हराउंदै फाइनलको यात्रा तय गरेको थियो।

डिफेन्डिंग च्याम्पियन समेत रहेको सिक्सरले हालसम्म दुई पटक उपाधि जितेको छ भने पर्थ स्कर्चर्सले सर्वाधिक ३ पटक उपाधि चुमेको छ।


क्यानवेरा स्थित मानुका ओभल मैदानमा बिहिबार सम्पन्न च्यालेन्जर खेलमा १९० रनको लक्ष्य पछ्याएको हिटले निर्धारित १८ ओभरमा ९ विकेट गुमाएर मात्र १५० रन बनाउँन सक्यो। खेल वर्षाले प्रभावित हुदाँ दुवै इनिंग्स १८ ओभरमा छुट्याइएको थियो। हिटले निरन्तर रुपमा विकेट गुमाउँदा हार बेहोर्नु परेको थियो।

हिटको लागि जोए बर्न्सले २४ बलमा ३ चौका र १ छक्काको मद्धतमा सर्वाधिक ३८ रन बनाए। लिनले २२ तथा जेवियर बार्टलेटले १९ रनको योगदान दिए। हिटको सबै ब्याट्सम्यानहरुले राम्रो सुरुवात पाएता पनि कुनै पनि ब्याट्सम्यानले लामो इनिंग्स भन्ने खेल्न सकेनन्।

जो डेन्ली र लिनले पहिलो विकेटको लागि ३७ रनको आक्रामक साझेदारी गरे। जेसन बेहरेन्डोर्फले लगातार बलमा दुवै ओपनरलाई पेभेलियन फर्काउदै स्कर्चर्सलाई खेलमा फर्काए। त्यसपछि स्कर्चर्सको बलरहरु खेलमा हावी हुदाँ हिट १५० रनमै समेटिन पुगेको थियो।

स्कर्चर्सको बलिंगतर्फ ॲरन हार्डीले (४-०-४६-३) सर्वाधिक ३ विकेट लिए। फवाद अहमद, एन्ड्रयु टाय र बेहरेन्डोर्फले समान २ विकेट हात पारे।

यसअघि ब्याट फिलिप हारेर ब्याटिंगको निम्तो पाएको स्कर्चर्सले निर्धारित १८ ओभरमा १ विकेट गुमाएर १८९ रन बनाएको थियो। उसको लागि लियाम लिभिङ्गस्टोनले ३९ बलमा ५ चौका र ६ छक्काको मद्धतमा सर्वाधिक ७७ रन बनाए। केमरन बेनक्राफ्टले ४२ बलमा अविजित ५८ तथा मिचेल मार्शले २८ बलमा अविजित ४९ रन बनाए।

बेनक्राफ्टसँग पहिलो विकेटको लागि ११४ रनको शतकीय साझेदारी गरेपछि लिभिङ्गस्टोन आउट भएका थिए। त्यसपछि बेनक्राफ्ट र मार्शले दोस्रो विकेटको लागि ७५ रनको अविजित साझेदारी गर्दै स्कर्चर्सलाई विशाल लक्ष्यतर्फ डोर्याएका थिए।

हिटको बलिंगतर्फ मिचल स्वेपसनले एकमात्र विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy