बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित

लामो समय देखि अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्दै आएका नेपाली खेलाडी सुनम गौतमलाई बिग ब्यास टिममा आवद्ध गर्न चर्चित पूर्व अस्ट्रेलियन क्रिकेटर स्टुवार्ट म्याकगिलले बिग ब्यास क्लबहरुलाई सिफारिस गरेका छन्।

अस्ट्रेलियाको लागि ४४ टेस्ट खेल्दै २०८ विकेट लिएका ४९ वर्षीय म्याकगिलले नेपाली स्पिनरको प्रशंशा गर्दै बिग ब्यास क्लबमा स्पिनरको रुपमा गौतम उत्तम बिकल्प रहेको बताएका छन्। उनले आफुलाई विश्वास गर्न समेत आग्रह गर्दै सुनममा आफ्नो बलिंगले खेल जिताउन सक्ने क्षमता रहेको पनि ट्वीट गर्दै बताएका छन्।

“कुनै बिग ब्यास लिग क्लब त्यस्तो स्पिन बलर खोज्दै छ जो बिपक्षी माथि हावी हुँदै खेल जिताउन सक्छ भने अरुलाई खोज्नु पर्दैन सुनम गौतम छन्, मलाई विश्वास गर्नुस्” भन्दै म्याकगिलले ट्वीट गरेका छन्। बिग ब्यास लिगले मंगलबार नयाँ खेलाडीहरुको लागि अनुवन्ध खुला गरेको थियो। लिग यो वर्ष डिसेम्बरमा सुरु हुँदैछ।


अस्ट्रेलियाको लागि १९९८ मा टेस्ट डेब्यु गर्दै २००८ मा अन्तिम टेस्ट खेलेका म्याकगिल आधुनिक क्रिकेटमा सबैभन्दा राम्रो स्ट्राइक रेट भएका लेग स्पिनर हुन्। तर अर्का लेग स्पिनर शेन वार्नका कारण म्याकगिलले सधै छायाँमा परे। म्याकगिलले टेस्टमा वार्न भन्दा पनि राम्रो स्ट्राइक रेटले बलिंग गरेका छन्। ७०८ टेस्ट विकेट लिएका वार्नको स्ट्राइक रेट ५७.४ रहेको थियो भने म्याकगिलको ५४.० रहेको थियो। मुथैया मुरलीधरनको स्ट्राइक रेट ५५ थियो भने अनिल कुम्बलेको ६५.९ रहेको थियो।

अस्ट्रेलियाको लागि ४४ टेस्ट खेल्दै २०८ विकेट लिएका म्याकगिल ( सेतो जर्सीमा ) आधुनिक क्रिकेटमा सबैभन्दा राम्रो स्ट्राइक रेट भएका लेग स्पिनर हुन्

“विश्वास गर्न सकिरहेको छैन” – सुनम गौतम 

अस्ट्रेलियन क्रिकेटमा ठुलो नाम म्याकगिलले ट्वीटमार्फत सुनमलाई बिग ब्यास लिग टिमलाई लिन सिफारिस गरेपछि सुनम गौतमले उनलाई ट्वीटमै जवाफ दिंदै आफू चकित भएको र विश्वास गर्न नसकेको लेखेका छन्।

“यो मेरो लागि निकै ठुलो तारिफ हो, म आश्चर्यचकित भएको छ। म वचन दिन्छु यदी मेरो बिग ब्यास खेल्ने सपना पुरा भए म तपाईलाई सबैभन्दा पहिले कल गर्छु। ‘फिंगर क्रस’ स्टुवार्ट म्याकगिल, मलाई लाग्दैन कि म आज सुत्न सक्नेछु” गौतमले ट्वीट गरेका छन्।

सुनमले साथिमार्फत म्याकगिलले गरेको ट्वीट थाहा पाएका थिए- “मलाई थाहा थिएन, एकजना साथिले भने पछि थाहा भयो उनले गरेको ट्वीट। ट्वीट हेर्दा म अचम्मित भए।”

“यो मेरो लागि निकै ठूलो तारिफ हो , जीवनमा ठूलो कुरा पाए जस्तो भयो। बिग ब्यासमा अनुबन्ध हुने नहुने कुरा ठूलो हैन तर त्यति ठूलो खेलाडीले एकपटक हेरेको भरमा मलाई त्यति ठुलो कुरा भन्नु मेरो लागि निकै ठूलो कुरा हो। वहाँले आफू स्पिनर भएको नाताले मेरो स्तर देखेको हुनुपर्छ।”

यसरी चिनेका थिए सुनमलाई म्याकगिलले 

अस्ट्रेलियामा साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेट खेल्दै आएका सुनमलाई यसै वर्ष ‘मे’ महिनामा भएको एक स्थानीय मैत्रीपूर्ण खेलमा स्टुवार्ट म्याकगिल रहेको टिमबाट खेल्ने मौका मिलेको थियो। त्यो बेला म्याकगिलले सुनमको दुसरा बल देखेपछि चकित भएका थिए। म्याकगिलसंग भएको भेट बारे सुनमले विकेटनेपाललाई बताए-

“एउटा जन्मदिनको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा हाम्रो भेट भएको थियो। म र म्याकगिल एकै टिममा थियौं। दुवै जना स्पिनर भएकोले हामि खेल अघि नेटमा संगै बलिंग गर्दै थियौं। दुवैले एक अर्कालाई त्यसक्रममा बलिंग पनि गर्यौं। त्यो बेला मैले उनलाई ‘दुसरा’ बल फाले। मेरो दुसरा देखेर वहाँ प्रभावित हुनु भयो र मलाई म्याचको बेला पनि ‘दुसरा’ फाल, राम्रोसंग बलिंग गर म तिम्रो बलिंग हेर्छु भन्नु भयो।”

सक्लेन मुस्ताक पछि देखेको सबैभन्दा राम्रो दुसरा बलिंग 

उक्त खेलमा आफ्नो दुसरा निकै राम्रोसंग हेरीसकेपछि सुनमलाई म्याकगिलले क्रिकेटमा ‘दुसरा बल’ जन्माउने बलर पाकिस्तानका सक्लेन मुस्ताक पछि देखेको सबैभन्दा राम्रो दुसरा बलर भनेर तारिफ गरेको सुनमले सम्झिए-

“मैले म्याचमा वहाँले भने जस्तै बलिंग गरे। मैले बलिंग गर्दा म्याकगिलले अम्पायरको नजिक आए तथा बिभिन्न साइडबाट नियालेर हेर्नु भयो। बलिंग गरिसकेपछि वहाँले मेरो दुसरा सक्लेन मुस्ताक पछि देखेको सबैभन्दा राम्रो दुसरा भन्दै तारिफ गर्नुभयो।”

“त्यसपछि वहाँले मेरो फोन नम्बर लिनु भयो र मलाई केहि पर्यो भने मलाई कल गर्न कुनै अफ्टेरो नमान्नु म सहयोग गर्न तयार छु भन्नुभयो। त्यसको २ दिनपछि ट्वीटरमा वहाँले मलाई फलो गर्नु भयो।”

ट्वीटरमा यस अघि पनि म्याकगिलले आफ्नो तारिफ गरेको सुनमले बताए –

“ट्वीटरमा मैले दुसरा बल गरेको एउटा भिडियो हालेको थिएँ जसमा वहाँले मेरो तारिफ गर्दै मेरो ‘दुसरा’ निकै राम्रो भएको बताउनु भएको थियो। त्यो बेला पनि वहाँले बिग ब्यासमा छनौट भए मेरो बल ‘गोप्य हतियार’ जस्तो हुने बताउनु भएको थियो।”

यसरी सिके दुसरा 

सुनमले दुसरा बल फाल्न श्रीलंकाका पूर्व क्रिकेटर रमेश रत्नायकेले निकै सहयोग गरेको सम्झिए। नेपाल टिमको क्यामपमा २०११/१२ को दौरान हुँदा रत्नायके नेपाल आएका थिए जुनबेला सुनमको दुसरा फाल्ने प्रयास उनले देखेका थिए।

“२०११-१२ मा म नेपाली राष्ट्रिय टिमको क्याममा छनौट हुँदा मैले दुसरा बल फाल्न सिकीरहेको थिएँ। त्यो बेला एक दिन म नेटमा दुसरा अभ्यास गर्दै थिए। मैले गरेको प्रयास त्यसबेला एक कार्यक्रमको लागि नेपाल आएका श्रीलंकाका पूर्व क्रिकेटर तथा तत्कालिन एसियन क्रिकेट काउन्सिलका प्रतिनिधि रमेश रत्नायकेले हेर्नु भएको रहेछ। वहाँले मलाई आएर सोध्नु भयो जसपछि मलाई टिप्स दिनु भयो। पारसलाई बलिंग गर्न लगाउनु भयो। वहाँले मलाई दुसरा बल बारे धेरै कुरा सिकाउनु भयो”

बिग ब्यासमा छनौट हुने सम्भावना 

सुनमले बिग ब्यास लिगमा छनौट हुने सम्भावना म्याकगिलको सम्भावना पछि निकै बढेको बताएका छन्। एजेन्ट मार्फत बिग ब्यास टिमहरुसंग सकारात्मक कुराहरु अघि बढिरहेको बेला म्याकगिलको ट्वीटले सुनमा सुगन्ध थपेको गौतमले बताए।

“छनौट हुने आशा रहेको थियो तर अब म्याकगिलको ट्वीटले सम्भावना झनै बढेको छ। मेरो एजेन्टले कुरा गरे अनुसार बिग ब्यास क्लबहरुसंग सकारात्मक कुरा भएको छ। म्याकगिलको सिफारिसले त्यसमा थप बल पुग्नेछ। छनौट हुने नहुने त नतिजा पछि मात्र थाहा हुने कुरा हो तर म आशावादी रहेको छु” गौतमले बताए।

सुनमले अस्ट्रेलियाको घरेलु क्रिकेटमा कुल २०९ खेल खेल्ने क्रममा ५ हजार ९९ रन बनाएका छन् भने २४९ विकेट लिईसकेका छन्। यसक्रममा उनको सर्वाधिक ब्याटिंग योगफल १८७ रन हो भने उत्कृस्ट बलिंग १४ रन खर्चेर लिएको ६ विकेट हो।

पहिलो प्राथमिकता नेपालनै 

अस्ट्रेलिया पुगेपछि त्यहाँ अस्ट्रेलियाको भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजबाट पहिलो लेभेलको क्रिकेट खेल्ने सुनम ४ वर्ष त्यहाँ खेलेपछि गत वर्ष देखि साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेट खेल्दै आएका छन्। त्यहाँ उनि ‘साउथर्न डिस्ट्रिक’ क्लब देखि खेल्दै आएका छन्।

सुनम खेल्ने साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेटमा एडम जाम्पा, ट्राभीस हेड, केन रिचर्डसन जस्ता खेलाडीहरु समेत खेल्ने गरेका छन्। सुनमको टिमको प्रशिक्षक वेस्टइन्डिजका पूर्व स्टार क्रिकेटर कार्ल हुपर रहेका छन्। २००३ मा सन्यास लिएका हुपरले वेस्टइन्डिजकको लागि १०२ टेस्ट र २२७ वानडे खेलेका थिए।

Sunam Gautam
Sunam Gautam

२ वर्ष अघि सुनमले भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजबाट शतक बनाउदै अस्ट्रेलियाको घरेलु क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका थिए। त्यसैवर्ष उनलाई बिग ब्यास टिम मेलबर्न स्टार्सले ट्रायलको लागि बोलाएको थियो।

सुनमले अस्ट्रेलियामा आफूले पीआर पाइसकेता पनि त्यहाँको नागरिकता भने नलिएको बताए। त्यसको कारण गौतमले बताए –

“मेरो पहिलो प्राथमिकता नेपालनै हो म नेपालको लागि खेल्न चाहन्छु। म अस्ट्रेलियामा लगातार खेल्दै आएको छु र नेपालले यहाँको जस्तै कन्डीसन भएको देशहरुमा खेल्न जाँदा म उपयुक्त खेलाडी हुनसक्छु। अस्ट्रेलियाको नागरिक हुने योग्यता भएता पनि नेपालको लागि खेल्ने मेरो चाहना हुँदा पीआर पाए पनि नागरिकता भने लिएको छैन।”

गौतम नेपालमा हुने प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग जस्ता प्रतियोगिताहरुमा सहभागी हुँदै आएका छन्।

नेपालको १७ र १९ वर्ष मुनिको टिम तथा राष्ट्रिय टिमको बन्दसत्रमा समेत स्थान बनाएका सुनम २०१२ मा नेपाली टिमको बन्दसत्रमा रहंदा अस्ट्रेलियातर्फ प्रस्थान गर्नु परेको थियो। उनले सन् २००५ मा नेपालको यु-१७ टिमबाट खेलेका थिए भने २००७ मा नेपाली यु-१९ टिममा स्थान बनाएका थिए। उनले २००९ मा मेरेलेबोन क्रिकेट क्लबको नेपाल भ्रमणमा नेपाल क्रिकेट संघ-११ बाट समेत खेलेका थिए।

तिमि नेपालको टिममा थियौं भन्दा झसंग भएका थिए गौतम 

२०१२ मा नेपाल राष्ट्रिय टिमको बन्दसत्रमा हुँदा अस्ट्रेलिया हिंडेका सुनमले अस्ट्रेलिया पुगे पछि आफू नेपालको राष्ट्रिय टिममा छनौट हुनेवाला थिएँ भन्ने कुरा थाहा पाएको बताए।

“अस्ट्रेलियामा हुँदा रमेश रत्नायकेसंग भेट भयो। वहाँ पनि अस्ट्रेलियामा बस्नुहुँदो रहेछ। वहाँसंग एक दिन भेट भयो जुन बेला मलाई वहाँले तिमि नेपालको राष्ट्रिय टिममा थियौं भनेर भन्नु भयो। त्यही बन्दसत्र छोडेर अस्ट्रेलिया आएको मैले त्यो कुरा थाहा पाउदा निकै पछुतो माने। टिममा मेरो नाम छ भन्ने थाहा पाएको भए म अस्ट्रेलिया आउने कुरा रोक्ने थिए।”

“त्यो बेला बन्दसत्रमा हुँदा मेरो प्रदर्शन निकै राम्रो थियो। घरेलु क्रिकेटमा पनि राम्रो खेलेको थिए। मेरो फिल्डिंग, ब्याटिंग र बलिंग पनि रत्नायेकेले हेर्नु भयो थियो। मेरो फिल्डिंग पनि निकै राम्रो थियो।” सुनमले सम्झिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/subash-khakurel-9-best-innings-wn20/

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

https://wicketnepal.com/abinash-bohara-best-4-spell-wn20/





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]