- विकेटनेपाल, भदौ २३ – शनिबार
नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा वर्तमान यु-१९ राष्ट्रिय टिमका प्रशिक्षक बिनोद दासले एसिया कप छनौट हुन असफल नेपाली टिमको समर्थन गर्दै यसलाई स्वभाविक रुपमा स्वीकार गर्नुपर्ने धारणा राखेका छन्।
विकेटनेपालसंग शनिबार बिशेष कुराकानी गर्दै दासले छनौट प्रतियोगितामा नेपालले कुनै नराम्रो टिमसंग नहारेको र जुन स्तरमा नेपाल खेल्दैछ सधै जित मात्रै हात नपर्ने समेत बताएका छन् –
“हामीले बुझ्नुपर्छ कि चाहे हंगकंग होस् या युएई या ओमान, सबै राम्रो टिम हुन्। हामी कहिले उनीहरुलाई हराउछौ या कहिले उनीहरु हामीलाई। हो यो पटक दुर्भाग्यवस् सबै टिमसंग हार्यौं तर यस्तो पनि हैन कि नराम्रो टिमसंग हार्यौं, हामि जुन स्तरमा खेल्दै छौँ अब यस्तो दिनहरु आउने छ कि हामि सधै जित्ने छैनौ।”
नेपालको असफलता पछाडीको कारण औल्याउदै दासले घरेलु क्रिकेटको संरचना, पूर्वाधार, तयारी र प्रशिक्षणलाई दोष दिए-
“तपाईको आफ्नै घरमा क्रिकेट हुँदैन, घरेलु क्रिकेट ५० ओभरको पनि हामी खेल्दैनौ, टि-२० बाहेक हामीसंग क्रिकेटनै छैन, हामि कहाँ जाँदैछौ ? हामी पर्याप्त क्रिकेटनै खेलीरहेका छैनौ राम्रो क्रिकेटर उत्पादन गर्न। जबसम्म हामि ५० ओभर र लामो फर्म्याटको क्रिकेट गराउदैनौ र विकेटमा सुधार गर्दैनौ तब सम्म हाम्रो टिमले पनि युएई र ओमानको जस्तो गर्न सक्दैनौ”
युएई, ओमान, हंगकंग र मलेसिया जस्तो टिमहरु पूर्वाधारको कुरामा नेपाल भन्दा निकै माथि रहेको समेत दासले उदाहरण दिए-
“ओमानसंग २ वटा स्टेडियम छ, हंगकंगको क्लबको मैदान हाम्रो टियु मभन्दा धेरै राम्रो छ, मलेसियाको हाम्रो भन्दा १० गुना राम्रो पूर्वाधार छ र विकेट पनि राम्रो छ” यस्तो चिजहरुको लागि सोच्ने सहि समय आएकोमा समेत उनले जोड दिए।
नेपाली क्रिकेटको समस्या समाधान गर्न आईसीसीले नभइ नेपालकै क्रिकेट सरोकारवालाहरुले अब प्रयास थाल्नु पर्ने कुरामा दासको सुझाव थियो-
“यो आईसीसीको हैन हाम्रो समस्या हो, आईसीसीले अरु १०० देशलाई समेत हेर्नुपर्छ। जो पनि सरोकारवालाहरु छन् र जो पहिले क्यानमा हुनुहुन्थ्यो , जो अहिले मोनीटरिङ्ग कमिटिमा हुनुहुन्छ, वहाँहरुले एउटा बाटो पत्ता लगाउनु पर्नेछ कि कसरि क्रिकेट प्रतियोगिता गर्ने र विकासको काम अघि बढाउने”
दासले नेपालको परम्परागत ब्याटिंग समस्या समाधान गर्न दिर्घकालिन उपाए सोच्नुपर्ने समेत बताए-
“ब्याटिंग समस्या समाधान गर्न दिर्घकालिन उपाए सोच्नुपर्यो। ब्याटिंग कन्सल्टेन्ट आउछन् मात्र हफ्ता दिनको लागि, त्यति समयमा आएर कुनै पनि खेलाडी होस् चाहे तेन्दुलकरनै किन नहोस उसले पनि परिवर्तन गर्न सक्दैन”
“ब्याटिंग कन्सल्टेन्ट आएर, हेरेर भनेको भरमा खेलाडीले सिक्न सक्दैन। सिक्न र सिकाउनको लागि प्रशिक्षकले पर्याप्त समय पाएपो उसले सुधारको काम गर्ने हो। मैलेनै यु-१९ टिम तयार गर्न मुस्किलले १५-२० दिनको समय पाएको छु जसमा १० दिन त टिम छनौट गर्न खर्चेको छु। हामिसंग पर्याप्त समयनै छैन तयारी गर्नको लागि र जुन स्तरमा खेल्दैछौँ तयारी एकदमै महत्वपूर्ण छ”
आफ्नो बिचारको पुस्टि गर्न उनले भारतीय क्रिकेट टिमको उदाहरण दिए-
“इंग्ल्याण्डमा भारत जाँदा के हालत भयो इन्डियाको ? सबै भन्दै छन् – ‘तयारी, तयारी र तयारी’, ‘खेल खेलेका थिएनन्’, यद्धपि कागजमा हेर्ने हो भने भारत इंग्ल्याण्ड भन्दा राम्रो छ तर उनीहरु हारीरहेका छन्। त्यसैले जब सम्म हामी तयारी गर्दैनौ यस्तो प्रतियोगिताहरुको लागि केहि हुने वाला छैन”
पारस खड्काको नेतृत्वमा प्रश्न गर्नेलाई
एसिया कप छनौटमा खराब प्रदर्शन गरे पछि कप्तान पारस खड्काको नेतृत्वमा प्रश्न चिन्ह खडा गर्नेहरुलाई पुर्व कप्तान दासले पारसको बिकल्पमा आफुलाई कुनै शंका नरहेको र पारस बाहेक कप्तानी गर्न लायक अन्य खेलाडी नरहेको दाबि समेत गरेका छन् –
“हो प्रदर्शन र प्रश्न सबै माथि उठ्छ तर मलाई उनको नेतृत्वमा कुनै शंका छैन। मलाई लाग्दैन अहिलेको समयमा उनि भन्दा राम्रो अरु कोहि छ नेतृत्व गर्न।”
एक प्रतियोगिता नराम्रो गर्दैमा पारसको बिकल्प खोज्ने कुरामा पारसको समर्थन गर्दै दासले भने-
“एउटा प्रतियोगिता हार्यो पारसलाई हटाउने,अर्को हार्यो अर्कोलाई हटाउने गर्न सक्दैनौ। हारको जिम्मा पारसको मात्रै हैन, मात्र पारसको टाउकोमा ताक्नु राम्रो उपाए हैन। अहिलेसम्म रेकर्ड नै हेर्ने हो भने पारस भन्दा राम्रो कोहि छैन।”
“सबै खेलाडीहरु खराब फर्मबाट, असफल प्रतियोगिताबाट गुज्रन्छन्। उनलाई ( पारस ) हामीले साथ दिनुपर्छ, मलाई लाग्दैन कि पारसको प्रतिस्थापन छ अहिलेको समयमा। तर हामीले अरुलाई पनि हेर्ने समय दिएर तयार चाहिँ गरिराख्नुपर्छ। पारसको भूमिकाको बिकल्प खोजिरहेका छौँ भने अहिले सहि समय आएको छ तयारी गर्न र कम्तिमा पनि २ बर्ष पछि हामिसंग पारसलाई प्रतिस्थापन गर्ने खेलाडी आउनेछ”